काठमाडौँ । यही माघ दोस्रो साता कास्कीको गगनगौँडामा गण्डकी प्रदेश सरकारको लगानीमा बनिरहेको पक्की पुल सञ्चालनमा नआउँदै लच्कियो । टेको झिक्नेक्रममा पुल लच्किएको थियो । तर, दुई सय टन भार क्षमता रहेको पुल सञ्चालनमा नआउँदै बिग्रेपछि गुणस्तरका विषयमा पनि प्रश्न उठेको छ । सेती नदीमाथि बनिरहेको पुल करिब सात करोड रुपियाँको लागतमा बनेको थियो ।
गत असारमा उदयपुरको चौदन्डीमा बनिरहेको पुल खोलाले बगाएको थियो । स्थानीय सिवाइ र बेलही गाउँ जोड्न बनाइएको उक्त पुल ११ वर्षअघि निर्माण सुरु भएको थियो । गत वैशाखमा गुल्मीको मुसिकोट गाउँपालिकाको वडा नम्बर ३ र ७ जोड्न बढीघाटखोलामा बनिरहेको पुल पनि काम पूरा नहुँदै भत्किएको थियो । पुल भत्किँदा निर्माण व्यवसायीसहित पाँच जना घाइते भएका थिए ।
गत वैशाखमै चितवनको भरतपुर र देवघाट जोड्न बनिरहेको पक्की पुल पनि एक महिनाको अन्तरालमा दुई पटक भाँचियो । घटनामा एक जना कामदारको ज्यान गयो भने आठ जना घाइते भए । निर्माणाधीन पुल पटक–पटक भाँचिदा पनि पुल निर्माणको जिम्मेवारी लिएको सडक विभागले घटनालाई सामान्य ठान्दै निर्माणकार्य अघि बढाएको छ । चितवनमा त्रिशूली नदीमाथि पनि बनिरहेको पुल पनि ७५ प्रतिशत काम पूरा भइसकेपछि भाँचिएको थियो । यो पुल पनि सडक विभागले नै बनाएको हो ।
निर्माणक्रममा भाँचिएका वा अन्य प्रकारका समस्या आएका मुलुकभरका पुलका यी उदाहरणमात्रै हुन् ।
सडक विभागका अनुसार २०७८ सालमा बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका २९ वटा पुलमा क्षति पुगेको छ । जसमध्ये निर्माणसम्पन्न भएका तथा निर्माणकै क्रममा रहेको आठवटा पुलमा क्षति पुगेको छ । नौवटा पुल निर्माणक्रममा नदीको माथिल्लो भागमा आएको बाढीपहिरोका कारण क्षति पुगेको छ । विभागका सिनियर डिभिजन इन्जिनियर प्रदीप भण्डारीले अधिकांश पुल निर्माण नसकिँदै बिग्रनुमा वर्षा नै मुख्य कारण रहेको दाबी गर्नुभयो ।
कतिपय पुल निर्माणकार्य अन्तिम चरणमा पुगेपछि भाँचिने वा लच्किने गरेका छन् भने कतिपयको आधा काम पनि नसकिँदै बिग्रने गरेका छन् । सरकारी अधिकारी भने कमजोर संरचनाका कारण नभई, अन्य नै कारणले निर्माणाधीन पुल बिग्रने दाबी गर्छन् । सडक विभागका अनुसार पुल निर्माण गर्दा पुलको वारपार जोड्न राखिने ‘प्रि स्ट्रेस केबल’ टाँग्न ढिलो हुँदा धेरैजसो पुलमा समस्या आउने गरेको छ ।
यो केबल पुललाई अड्याउन वारि र पारि टाँगिन्छ । सामान्यतया ढलान गरिएको २८ दिनपछि मात्रै केबल राख्ने गरिन्छ । यो समय कुनै पनि पुलका लागि निकै नै जोखिमपूर्ण मानिन्छ । किनभने केबल नराख्दासम्म ढलान गरिएको पुलमा सामान्य हावाहुरीले पनि क्षति गराउन सक्छ । पुलले ढलानको तौल थेग्न नसक्दा पनि समस्या आउन सक्छ ।
गगनगौँडाको पुलमा पनि यही समस्या आएको सडक विभागका उपमहानिर्देशक उमेशबिन्दु श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश पुलमा यही समस्या देखिएको छ । यो समस्याबाट पुललाई जोगाउन के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेका छौँ ।”
पूर्वाधारविज्ञ भीम उपाध्यायले बन्दाबन्दै वा बनेपछि कहिलेकाहीँ पुलमा समस्या आउनु स्वाभाविक भए पनि पछिल्ला दिनमा भने यो क्रम बढ्दै गएको बताउनुभयो । पुलको डिजाइन तथा जगको गहिरो अध्ययन नगरी काम गर्ने प्रवृत्तिले यस्तो समस्या निम्तिने उहाँले बताउनुभयो । यो अवस्था अन्त्य गर्न पुलको डिजाइनदेखि निर्माणकार्य सम्पन्न हुनुअघिको गुणस्तर अध्ययन गर्न स्वायत्त निकाय गठन गर्नुपर्ने उहाँले बताउनुभयो ।
पछिल्ला दिनहरूमा पुल बनिनसक्दै बिग्रनुमा कमसल तथा तोकिएको मात्रामा कच्चा पदार्थ प्रयोग नगर्नु पनि एउटा कारण हुन सक्ने पूर्वाधारविज्ञ उपाध्यायले बताउनुभयो । तर, विभागका उपमहानिर्देशक श्रेष्ठले भने कमसल सामग्री प्रयोग गरेर पुल बनाउँदा कुनै समस्या आयो भने ठेकेदारले नै क्षति बेहोर्नुपर्ने भएकाले यस्तो आरोपमा सत्यता नरहेको दाबी गर्नुभयो ।
Source गोरखापत्र