टी२० विश्वकप: बलरले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानमाथि नेपालको रोमाञ्चक जित

खवर पाटी (खोज खबरको अभियान)

एक सय १७ रनको मध्यम स्कोरमा समेटिएपछि लागेको थियो, नेपालले ओमानसँगको खेल गुमायो।

तर नेपाली बलरहरूले ओमानी ब्याटरहरूविरुद्ध यसरी कसिलो बलिङ गरे कि नेपाल उनीहरू ७८ रनमा समेटिन पुग्यो।

आईसीसी विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको हो।

टस हारेर ब्याटिङ गरेको नेपाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनायो।

एक सय १८ रनको सामान्य मानिएको लक्ष्य पछ्याउन आएको ओमान १७ ओभरमा ७८ रनमा अलआउट हुन पुग्यो।

नेपाललाई जिताउन कमल सिंह ऐरीले ३ विकेट, कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए भने जीतेन्द्र मुखिया र अभिनाश बोहराले १/१ विकेट लिए।

ओमानका १० खेलाडीले दोहोरो अङ्क छुन सकेका थिएनन्।

टोलीका लागि विकेटकिपर नसिम खुशीले मात्र २४ रन बनाएका थिए।

तर उनले २ रनमा हुँदा जीवनदान पाएका थिए। अभिनाश बोहराको बलमा विकेटकिपर आसिफ शेखले उनको सामान्य क्याच छुटाउन पुगेका थिए।

पहिलो ओभरको तेस्रो बलमा कमल सिंह ऐरीले कश्यप प्रजापतिको विकेट लिँदै नेपाललाई शुरुआत दिलाएका थिए।

अर्को ओभरमा जितेन्द्र मुखियाले आयान खानको विकेट लिए।

पाँचौ ओभरमा ओपनर जतिन्दर सिंह ९ रनमा रन आउट भएपछि नेपाल खेलमा हावी भयो।

नेपाली इनिङ

यसअघि पहिलो ब्याटिङ गरेको नेपाल ओमानको अल अमेरत क्रिकेट मैदानमा कुनै पनि ब्याटरले इनिङ सम्हाल्ने प्रदर्शन गर्न सकेनन्।

खेलाडीहरू एकपछि अर्को गर्दै निरन्तर रूपमा आउट हुन पुगे।

त्यसको शुरुआत पहिलो ओभरबाटै भएको थियो। पहिलो ओभरको अन्तिम बलमा तेज बलर बिलाल खानको बलमा आसिफ शेख (४ रन) मिड अनमा समातिन पुगेका थिए।

तेस्रो ओभरमा नेपालले विस्फोटक ओपनर कुशल भुर्तेल ( ५ रन )लाई पनि गुमाउन पुग्यो। उनी पनि बिलाल खानकै शिकार भए।

धरमराएको ब्याटिङ सम्हाल्न आएका ज्ञानेन्द्र मल्ल (१५ रन) र दिपेन्द्र सिंह ऐरी (११ रन) बाहिरिएपछि नेपाल ४० रनमा ४ विकेट गुमेको खराव अवस्थामा पुगेको थियो।

चार देशीय शृङ्खलामा ऐरीले ओमान विरुद्ध उत्कृष्ट ७५ रन बनाएका थिए।

सङ्कटमा परेको नेपालको ब्याटिङलाई आरिफ शेखले उकासेका थिए।

उनले ३७ बलमा २ चौका सहित ३८ रन प्रहार गरे। पूरा ओभर खेलेका उनी इनिङको अन्तिम बलमा रन आउट हुन पुगेका थिए।

लोकेश बम १६ रन र विवेक यादवले ७ रन जोडे।

कप्तान लामिछानेले एक चौका र एक छक्का हान्दै ७ बलमा १६ रन बनाए।

ओमानको बलिङमा पाकिस्तानी मूलका बिलाल खानले नेपालको प्रारम्भिक जोडीलाई ध्वस्त पारेर नेपालको इनिङ लरखराइदिएका थिए।

त्यस्तै खबर अलीले ३ विकेट लिँदै मध्यक्रमको विकेट कब्जा गरेका थिए।

नेपालले अब छनोटको समूह ए मा रहेका क्यानडा र फिलिपिन्ससँग खेल्न बाँकी छ।

खेलाडी परिवर्तन

प्रशिक्षक पुबुदु दशानायकेले भेट्रान शरद भेषावकरलाई बाहिर राख्दै युवाहरूलाई ब्याटिङ सम्हाल्ने जिम्मा दिएका थिए।

उनले विवेक यादव र लोकेश बमलाई मध्यक्रममा रन गति जोड्ने भूमिका दिएका थिए।

भेषावकरसँगै सागर ढकाल र गुलशन झा टिम बाहिर रहे।

Facebook Comments Box