देउवालाई गठबन्धन गलपासो, एमसीसी कि गठबन्धन ?

खवर पाटी (खोज खबरको अभियान)

सत्तासिन गठबन्धन दलहरुबीच नै विरोध र असहमतिका बीच नै सरकारले प्रतिनिधि सभामा अमेरिकन सहयोग एमसीसी टेबल गरेपछि गठबन्धनको भविष्य अन्यौलमा परेको छ । सडकमा व्यापक विरोध र गठबन्धन भित्रै सहमती नजुटेको अवस्थामा एमसीसी टेबल गरेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अगाडि बढेमा सत्ताबाट हट्ने परिस्थिति विकास भएको चर्चा पनि चल्न थालको छ । सत्ता गठबन्धन कायमै राख्ने गरी एमसीसी पारित गराउन खोजेमा असफल हुने निश्चितप्राय देखिन्छ ।

सत्ता पक्षको नेकपा माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिइसकेको छ । टेबल गर्दा पनि अर्थमन्त्री जर्नादन शर्मा सदनमा अनुपस्थित रहे । नारायणकाजी श्रेष्ठ विद्रोहको तयारीमा छन् । माओवादी एमसीसी पारित गर्ने पक्षमा गएपनि त्यहाँ हुने विद्रोहले मत विभाजन हुनेछ । त्यसैले प्रचण्ड त्यो जोखिम मोल्न तयार छैनन् ।

नेकपा एसभित्र झलनाथ खनाल एमसीसी कुनै हालतमा पारित गर्न नहुने पक्षमा छन् । खनालले विद्रोह गर्ने संकेत गरिसकेका छन् । यसकारण गठबन्धनकै भरमा एमसीसी पास हुने अवस्था छैन । देउवाका लागि गठबन्धन तोडेर बढ्नुको विकल्प छैन ।

एमसीसीको समयसीमा १६ फागुनभन्दा पछि सरेमा भने देउवालाई राहत हुनसक्छ । अन्यथा एमसीसी गठबन्धनकै बलमा पारित गर्न खोजे असफल हुने देखिइसकेको छ । त्यतिबेला देउवाको प्रधानमन्त्री पद नै धरापमा पर्न सक्छ । गठबन्धनका दलहरुभित्र भाडभैलोले देउवा अल्पमतमा पर्ने अवस्था विकास भई अप्ठ्यारो परिस्थिति आउने देखिन्छ ।

गठबन्धनको विकल्पमा जाने भनेको एमालेसँगको नयाँ समझदारी बन्नु हो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग देउवाले ५ फागुनमा केही गोप्य कुराकानी गरेका छन् । जसमा राजनीतिक लेनदेनको विषय छ । ओलीले चुनावी सरकारको नेतृत्व दाबी गरेका छन् । देउवा त्यसमा तयार नभएकाले गठबन्धन जोगियो र नयाँ परिस्थिति बन्यो ।

एमसीसी पारित गरिछाड्ने अडानमा देउवा बढ्नका लागि ओलीको साथ लिनुपर्ने अवस्था पनि हुनसक्छ । त्यतिबेला ओलीले मागेको चुनावी सरकारको नेतृत्व छाड्न देउवा वाध्य हुनसक्छन् । एमसीसी पारित गर्ने पक्षमा गएमा ओलीको दल नेकपा एमालेमा पनि विद्रोह हुनसक्छ ।

त्यतिबेला एमसीसी पारित नहुने गणित बन्ने सम्भावना बढ्छ । एमालेमा हुने दुर्घटनाको असर देउवालाई नै पर्न सक्छ । एमसीसी फेरि पनि असफल भई देउवा सरकार अल्पमतमा पर्न सक्छ ।

एमसीसी बढ्दा कम्युनिस्ट पार्टीहरु दुर्घटनामा पर्न गइरहेका छन् । सँगै देउवाको प्रधानमन्त्री पद पनि धरापमा परिरहेको छ । देउवा राजनीतिक जीवनकै अप्ठ्यारो परिस्थितिको सामना गरिरहेका छन् ।

Facebook Comments Box