किभ । युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ ।बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनुपर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नुपर्ने शर्त राखेको हो ।
युक्रेनले दुई शर्त राखेपछि वार्ताले सकारात्मक मोड लिने सम्भावना कम रहेको अधिकारीहरुले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताउनुभएको थियो । उहाँले विश्वास नभए पनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिनुभएको थियो ।
रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौ दिनमा वार्ता भएको हो । वार्ता युक्रेनसँगको सीमाक्षेत्रमा पर्ने बेलारुसको एक ठाउँमा भएको हो । रुसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्वीकार गरेपछि रुसले आक्रमण अझ बढाएको थियो । रुसी सेनाले युक्रेनमा अहिले पनि आक्रमण जारी राखेका छन् ।
गोरखापत्र बाट