हाम्रो एजेण्डाप्रति जनलहर आइरहेको छ : लालध्वज लामा

खवर पाटी (खोज खबरको अभियान)

मुलुकको भइरहेको राजनीतिक अस्थीरतालाई यहाँले कसरी लिनु भएको छ ?
पाँच दलीय गठबन्धनबाट सरकार चलिरहेको छ । यस अवस्थामा संसदीय व्यवस्थाको मूल आधारको रुपमा रहेको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका अन्यौलग्रस्त र अस्तव्यस्तको अवस्थामा रहेको छ । कार्यपालिका अप्राकृतिक ढंगको गठजोडको रुपमा गठबन्धन भई विशुद्ध गुटगत स्वार्थमा लिप्त भई आ–आफ्नै ढंगले स्वार्थमा प्रेरित भइ देश र जनताको लागि कुनै कामगर्न नसकेको अवस्था छ । कुनैपनि साझा एजेण्डा छैन । त्यसैले अहिले आफ्नो दलगत स्वार्थपूर्ति नहुने भएपछि एमसिसीको वाहानामा गठबन्धन छुट्ने अवस्थामा पुगेको थियो ।
व्यवस्थापिका जनताको महत्वपूर्ण विषयहरुको छलफल गरी निकास दिनुपर्ने ठाउँमा विगत ६–७ महिनादेखि संसद अनिर्णयको बन्दीमा रहेको छ भने न्यायपालिका ३–४ महिनादेखि झन अस्तव्यस्त रहेको छ । राजनीति गम्भीर संकटको भूमरीमा फसिसकेको छ । कुनैपनि बेला यो अवस्थालाई बेलैमा संशोधन नगर्ने हो भने राष्ट्रको अस्तित्वमानै गम्भीर असर पर्ने सम्भावना छ । यसरी हेर्दा मुलुकका सबै क्षेत्र अस्तव्यस्त भएको देखिरहेका छौँ ।

अमेरिकी सहयोग परियोजना एमसिसी बारे तपाईको विचार राख्नुस न ?
एमसिसीको बारेमा हाम्रो पार्टी गम्भीर र चिन्तित छ, किनभने यो विशुद्ध आर्थिक क्रियाकलाप मात्र नभई राजनीति, सामाजिक र राष्ट्रियतासँग जोडिएको देखिन्छ । वास्तवमा भन्ने हो भने विदेशी सहयोग नलिइकन देशलाई समृद्धशाली बनाउन सकिन्न । त्यसो भएकोले अन्यदेशबाट सहयोग लिनु नै छ तर विदेशीको स्वार्थभन्दा आफ्नो देशको स्वार्थलाई नहेरी सम्झौता पत्रलाई राम्ररी अध्ययन नगरी गरिएको एमसिसी सम्झौता राष्ट्रहितको पक्षमा नदेखिएकोले हाम्रो पार्टीले एमसिसीको विरोधमा सदन र सडकमा आन्दोलन गरिरहेको छ ।

कमल थापाले राप्रपा छोड्नु भयो नि ?
कमल थापाले मूल पार्टी छोडनुको कारण खासै वैचारिक शैद्धान्तिक कुराहरु थिएनन् । पार्टीको महाधिवेशनमा पक्ष–विपक्ष द्धार जित हुनु स्वभाविक कुरा थियो तर उहाँले अमूक व्यक्ति वा संस्थालाई दोष लगाई पार्टी छोड्नु राम्रो कुरा थिएन । उहाँको विशुद्ध व्यक्तिवादी सोचाई र विचारको कारण पार्टी छोड्नु भएको जस्तो मलाई लाग्छ ।

राप्रपा महाधिवेशनपछि के गर्दैछ ?
राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनपश्चात मूल रुपमा आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन केन्द्रित भएर आन्तरिक तयारीमा लगिरहेको छ । यसैको तयारीमा पार्टीको केन्द्रीय महामन्त्री भूवन पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरि सकेको छ भने पार्टी आन्तरिक शक्ति आर्जनको विविध कार्यक्रमहरु संचालन गरिरहेको छ । राप्रपामा पार्टी प्रवेशको लहरै छ । यो व्रmम जारी रहन्छ । यसै क्रममा विभिन्न संघसंस्था र व्यक्तिहरुको प्रवेशको लहरै नै चलिरहेको छ । त्यस क्रममा हाम्रो नेपाल, हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही राप्रपामा समाहित हुनु भएको छ । यसै गरी धार्मिक तथा सामजिक अभियन्ता अविषेक जोशी राप्रपामा समाहित हुनुभएको छ । राप्रपामा समाहित हुने काम तीव्र गतिमा चलिरहेको छ ।

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले भने अनुसार काम गर्न सक्नु होला?
यसै मेसोमा भन्नुपर्दा निश्चित रुपमा कुनै स्वार्थ विना गरिएको काम र स्वार्थसहित गर्ने काममा फरक पर्छ नै । त्यसैले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले निस्वार्थ रुपमा कामगर्ने वचनवद्धता व्यक्त गर्नुभएको छ । र हालसम्म कुनै स्वार्थ र पक्षपात नगरी पार्टीमा काम गरेको देखिएको अवस्थामा उहाँले भनेको कुरा पुरा गर्नु होला भन्ने विश्वास लिने आधार छ ।

राजतन्त्र फर्किएला ?
यसैगरी राजतन्त्रको बारेमा भन्नुपर्दा हाम्रो पार्टीको मूल एजेण्डामध्ये राजसंस्था पनि एक हो । हामीलाई विश्वास छ, एकदिन राजसंस्था पूनस्थापना हुनेछ । अहिले हाम्रो एजेण्डाप्रति जनलहर अनपेक्षित रुपमा चलिरहेकोछ । त्यसैले राजतन्त्र फर्किन आधारहरु स्पष्ट रुपमा देखिएका छन् ।

देशव्यापी फैलिरहेको महँगीलाई तपाईले कसरी हेर्नु भएको छ ?
महँगीले जनता आव्रmान्त भएका छन् । पेट्रोलियम पदार्थमा व्यापक मूल्य वृध्दि भइरहेको छ,नून, तेल खाद्यन्न लगायतमा मूल्यवृध्दि भइरहेको छ । मूल्यवृध्दि रोक्नु पर्ने सरकारी निकाय मुकदर्शक भएर बसेको देखिन्छ । भ्रष्टाचार, अनियमितता महँगी नियन्त्रण गर्ने निकाय सरकारनै मौन रहेको छ ।

अन्तमा देशवासीलाई तपाईको सन्दश दिनुस् न ?
पहिलो कुरा, राष्ट्र, राष्ट्रियता, राष्ट्रिय सार्वभौमिकता इतिहासमै कमजोर अवस्थामा रहेको छ । यि सबै विषयलाई गम्भीर रुपले चिन्तन मनन गरी सबै नेपाली जनता सजग भएर लाग्नुपर्ने अवस्था रहेको छ । यसबाहेक राष्ट्रको धर्मसंस्कार, संस्कृति लोप हुँदै गइरहेको अवस्थामा सबै नेपाली सजक हुनुपर्छ । देश आर्थिक, सामाजिक, राजनीतिक लगायत हर क्षेत्रले असफल रहेकाले निस्वार्थी र पक्षपाारहित मुलुक र जनताको स्वार्थका लागि इमान्दारीपूर्वक कामगर्न खोज्ने राजनीतिक दल वा व्यक्तिलाई राम्ररी चिनी व्यवहार गर्न सम्पूर्ण देशवासीहरुलाई विनम्र अनुरोध गर्दछु ।

Facebook Comments Box