युवकको मृत्युपछि सुर्खेतमा आफन्तको प्रदर्शन

खवर पाटी (खोज खबरको अभियान)

सुर्खेत, फागुन २१ गते। सुर्खेतमा प्रहरीको कुटपिटबाट कालीकोटका कृष्ण हमालको मृत्यु भएको भन्दै आफन्त आन्दोलित भएका छन्।

शुक्रबार साँझ नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगरमा रहेको सुब्बाकुना प्रहरी चेकपोष्टमा मादक पदार्थ सेवन गरेको भन्दै प्रहरीले कुटपिट गरेको थियो। प्रहरीको कुटपिटका कारण हमालको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।

प्रहरीको कुटपिटका कारण मृत्यु भएको भन्दै आफन्तले शनिबार दिउँसो वीरेन्द्रनगर बजारमा आन्दोलन गरेका हुन्।

आक्रोशित भीडले आन्दोलन चर्काएपछि सुर्खेत अस्पतालले विज्ञप्तिमार्फत अस्पताल ल्याउनु पूर्व नै युवकको मृत्यु भएको जनाएको छ। अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा शनिबार बिहान १०ः१५ मा दुई जना व्यक्तिले बेहोस् भएको भनेर ल्याएको र चेकजाँच गर्दा मृत्यु भइसकेको उल्लेख गरेको छ।

अस्पतालको विज्ञप्तिमा नाडीको गती, श्वास प्रश्वास र मुटुको धड्कन नभएको र अस्पताल ल्याउन पूर्व नै मृत्यु भएको उल्लेख गरिएको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले घटनाको विषयमा छानविन गर्नका लागि समिति बनाएर छानविन सुरु गरेको जानकारी दिनुभयो।

‘प्रहरीले शुक्रबार साँझ कुटपिट गरेको भनेर भनिएको छ। आज अस्पतालले मृत्यु घोषणा गरेको छ’, उहाँले भन्नुभयो, ‘हामीले छानविन सुरु गरेका छौँ। अनुसन्धानपछि दोषीमाथि कारबाही हुन्छ।’

Source गोरखापत्र

Facebook Comments Box