पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचाे हस्तान्तरण

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार विमानस्थलको साँचो परारष्ट्रमन्त्री डा. नारायण खड्कालाई हस्तान्तरण गर्नुभएको हो।

भर्चुअल र प्रत्यक्ष दुवै माध्यमबाट भएको कार्यक्रममा साँचो हस्तान्तरण भए लगत्तै पोखरामा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्नुभएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजनाको ९३ प्रतिशत काम सकिएको छ। विमानस्थल डेकोरेशन, फिनिसिङ लगायतका काम बाँकी छ। विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको छ।

गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएको भए पनि कोरोना सङ्क्रमणका कारण एक वर्षपछि सरेको थियो। विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ। यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन्।

गोरखापत्र मा प्रकाशित

Facebook Comments Box