स्थानीय निकायको निर्वाचन नजिकिएसँगै हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताहरू निर्वाचन केन्द्रीत गतिविधिमै छौं । देश र जनताका मुद्दाहरू सँगसँगै हामीले लिएर हिंडेका छौं । किनभने नेकपा (माओवादी केन्द्र) जनताको पार्टी हो, देशको पहरेदार पार्टी हो । हाम्रो जिल्ला सिन्धुपाल्चोकमा दुईवटा निर्वाचन क्षेत्र, २ वटा नगरपालिका, चारवटा गाउँपालिका छन् । जहाँ हाम्रो पार्टीको आधार सबैभन्दा बलियो छ र अझ मजबुत बनाउने अभियानमा हामी दिन–रात नभनी लागिपरेकै छौं ।
नगरपालिका, गाउँपालिका र वडाहरूमा मात्र होइन, देशैभर पार्टीलाई अग्रणी बनाउनु नेकपा (माओवादी केन्द्र) को बफादार सिपाहीको नाताले मेरो कर्तव्य हो भन्ने बुझेर त्यसैअनुसार म अहिले सक्रिय छु । अहिलेको सत्ता गठबन्धन भनेको संविधान, गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको रक्षाका निम्ति बनेको हो । संविधानलाई रद्दीको टोकरीमा फाल्ने केपी ओली नेतृत्वको सरकारको षड्यन्त्रलाई विफल पार्नका निम्ति बनाइएको गठबन्धन हो । त्यसैले यो गठबन्धन निर्वाचनसम्म मात्र होइन, सधैंभरि कायम रह्यो भने देशको हित हुन्छ भन्ने मलाई लाग्छ । निर्वाचनका विषयमा गठबन्धनले गरेको निर्णय कार्यान्वयन गराउन हाम्रो पार्टीको तर्फबाट इमानदार प्रयास हुनेछ ।
गठबन्धन गरेर गइसकेपछि ‘मेरो गोरुको बाहै्र टक्का’ भनेर पनि हुँदैन । हाम्रा भन्दा राम्रा मान्छे हेर्नुपर्ने हुन्छ । गठबन्धनले गरेको निर्णयविपरीत गठबन्धनमा संलग्न हामी कुनै पनि पार्टीका कोही पनि नेता–कार्यकर्ता जान सक्दैनौं । त्यहीअनुसारको भूमिका हामी सबैले खेल्नुपर्ने हुन्छ । तर, पनि हाम्रो पार्टीले गठबन्धनको निर्णय आउनुभन्दा अगाडि पार्टीगतरुपमा कार्यकर्तालाई निर्वाचनकेन्द्रीत प्रशिक्षण, घर–घरमा गएर पार्टी र गठबन्धनको महत्वबारे जनतालाई बुझाउने, आफ्ना धारणा राख्ने काम गरिरहेका छौं र यो कामका लागि हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले विभिन्न समिति–उपसमिति बनाइसकेको छ ।
अबका निर्वाचनहरूपछि नेकपा (एमाले) भन्ने पार्टीचाहिं यो देशबाट पत्तासाफ हुन्छ । पत्तासाफ गराउनुपर्छ भन्ने मेरो मान्यता छ । राज्यको ढुकुटीको दोहन गर्ने, गर्नै नसक्ने हावादारी भ्रम जनतामा छर्ने, एनजीओ–आईएनजीओको लगानीमा कार्यकर्ता पाल्ने, जनतालाई उठ्नै नसक्ने गरी ऋणको भारले थिचाउने, चीनबाट स्याउ भनेर सुन तस्करी गर्ने, देश र जनतालाई गुमराहमा राखेर देश लुट्ने अनि एमसीसीको पहिलो सम्झौताकार पार्टी हो, नेकपा (एमाले) भनेको । यसको हिसाब–किताब जनताले एक–एक गरी राखेका छन् र आउने निर्वाचनहरूबाट जनताले त्यो हिसाब–किताब राम्रैसँग चुक्त्याउँछन् भन्ने कुरामा म चाहिं ढुक्क छु ।
नेकपा (एमाले) ले संविधान र व्यवस्थामाथि नै गर्न खोजेको गद्दारी अहिलेको गठबन्धनले विफल पारेकै हो । देश र जनताप्रति अनुत्तरदायीमात्र होइन, देशलाई भड्खालोनजिक पु¥याएर छोड्ने पार्टी हो, एमाले । पढेका युवालाई देश विकासमा लगाउनुको साटो खाडीमा लखेटेको एमालेले नै हो । देश र जनताका विरुद्ध यतिबिघ्न गद्दारी गर्ने गद्दार पार्टी नेकपा (एमाले) का विरुद्ध उभिएर उसलाई मुलुकबाटै पत्तासाफ गराउने निर्वाचनकेन्द्रीत सुनौलो अवसरलाई गठबन्धनमा संलग्न पार्टीका हामी नेता–कार्यकर्ताले गुमायौं भने मलाई लाग्छ, निर्वाचनपछि देश र जनताको हितविरुद्धको निरंकुशताको मार्ग अरु फराकिलो हुनेछ ।
हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले निर्वाचनकेन्द्रीत गतिविधिहरूमा पनि नेकपा (एमाले) को ज्यादतीका बारेमा जनतालाई प्रष्ट पार्दै गठबन्धनको महत्व प्रष्ट्याएकै छौं । जुझारु युवा पुस्तालाई संगठनात्मकरुपमा एकीकृत गर्दै अगाडि बढेको अवस्था छ । सिन्धुपाल्चोक जिल्लाकै कुरा गर्ने हो भने त्यो बिकट जिल्लाको गाउँ, टोल, घर–घरसम्म मोटरबाटो पु¥याउने काममा नेकपा (माओवादी केन्द्र) ले गरेको योगदान त्यहाँका जनताको मन–मस्तिष्कबाट कसै गरे पनि कसैले हटाउन सक्ने छैन भन्ने मेरो प्रष्ट धारणा छ । देशैभरिका जनताले आशा र भरोषा गरेको पार्टी नेकपा (माओवादी केन्द्र) हो भन्दा हामी नेता–कार्यकर्ताको छाती गर्वले चौडा हुनु स्वभाविकै हो ।
नेकपा (माओवादी केन्द्र) देश र जनताप्रति समर्पित पार्टी हो । बृद्धभत्ताको शुरुवात नेकपा (एमाले) ले गरे पनि ४ हजार पु¥याउने काम हाम्रै पार्टीले गरेको हो । दलित, उपेक्षित, उत्पीडित, ब्राम्हण, खस–क्षेत्री सबैको साझा प्रतिनिधित्व गर्ने पार्टी हो, नेकपा (माओवादी केन्द्र) । देशभरिका युवाको आकर्षण हाम्रो पार्टीप्रति छँदैछ । चामल, तरकारी, दाल, मासुलगायतका चिज हामीले आयात गरेर खाइरहेका छौं । युवालाई कृषिमा आकर्षित गरेर स्वरोजगार बनाई कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने र युवालाई विषयगत विधाका आधारमा मुलुकमै रोजगारीको अवसर सिर्जना गर्ने हाम्रो पार्टीको प्रष्ट ‘भिजन’ छ । ८३ प्रतिशत बाझो जमिनलाई हराभरा बनाउने योजना नेकपा (माओवादी केन्द्र) ले अघि सारेको छ ।
तराईका जनताले नेकपा (माओवादी केन्द्र) सँग ठूलै आशा र भरोषा गरेर आकर्षित भएका छन् । हामी तराईबासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूको आशा र भरोषामा तुषारापात हुन कदापी दिने छैनौं । अबको निर्वाचनपछि नेकपा (एमाले) को सरकारका पालामा छरिएका भ्रमहरू चिर्दै सबल, सफल र सम्पन्न नेपाल निर्माणको अभियानमा हामी लागिपरेका छौं । सम्पूर्ण मतदाता आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूलाई मेरो विनम्रतापूर्वक आग्रह छ, अबको निर्वाचनमार्फत् नेकपा (एमाले) ले छरेका भ्रमहरूलाई चिरौं र समृद्ध नेपाल निर्माणको अभियानमा अघि बढौं ।
(कुराकानीमा आधारित)