निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका विषयमा अन्योल सिर्जना गर्ने अभिव्यक्ति नदिन सरोकारवालाहरूलाई निर्देशन दिएको छ। बिहीबार पत्रकार भेटघाटमा राजनीतिक दलका नेता तथा कार्यकर्ताले तोकिएको समयमा निर्वाचन नहुने अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले राजनीतिक दलका नेता, कार्यकर्ता तथा सम्बन्धित सबैलाई निर्देशन दिएको हो।
निर्वाचनको तयारी तीव्रताका साथ अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ। ‘निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्नका लागि तयारीहरू तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका विषयमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका इमानदार नेता एवं कार्यकर्ताबाट आएकोप्रति आयोगको ध्यानाकर्षण भएको छ,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘निर्वाचनका विषयमा अन्योल सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ।’