मतदाताको रायको आधारमा निर्णय लिनु उचित, व्यवहारिक र तर्कसंगत हो, तर विभाजित बहुमतको महत्वलाई कहिल्यै नकार्न हुँदैन। यदि संविधानप्रति आस्थावान बन्ने हो भने, समर्थन र विरोधमा मतदान गर्ने सम्पूर्ण नागरिकप्रति समान ब्यवहार हुनु पर्दछ। लोकतन्त्रमा विपक्षीले पनि जनताको रायलाई अभिब्यक्त गरेको हुन्छ।
हाम्रो समाज अशिक्षा र अंधविश्वासले जकडिएको छ। आज पनि हामी पुरानै सोचले ग्रस्त छौं। लोकतन्त्र र आधुनिक राजनीतिक दर्शनहरुको ज्ञान छैन कसैमा। निर्वाचनका मुद्दाहरु विकाससँग सम्बन्धित हुन सकेका छैनन्।
नेताहरुले नेतृत्व गर्नुलाई आफ्नो जन्मसिद्ध अधिकार सम्झन्छन्। सत्तामा पुग्नलाई अनेकौं हथकण्डा अपनाउँछन्। आफूलाई शिखरमा स्थापित गर्नको खातिर हरसंभव षडयन्त्र रचाउँछन्। समाजमा आज पनि सामन्तवादको प्रभाव छ। मतदाताको हितमा भन्दा पनि नेताको स्वार्थमा आधारित बनेको छ राजनीति।
कुनै पनि चुनाव विवेक र एकाग्रताको जाँच हो। सर्वोत्तम चयनको निम्ति शान्त र निरुद्धिग्न वातावरणमा चुनाव संपन्न हुनु पर्दछ। जबकि हामीकहाँ हुने निर्वाचन प्रक्रिया उत्तेजनाको माहोलमा संपन्न हुन्छ। राजनीतिक दल र मिडियाहरुले झूठो प्रचारबाजी गर्छन्।
भीडको मानसिकताले ठूलो बहुमत पनि विपक्षमा बाँडिएर निष्प्रभावी हुन्छ। नेताहरुले तात्कालिक महत्त्वका मुद्दाहरु उठान गर्छन्, तिनीहरुको दूरगामी प्रभाव विकास विरोधी हुन्छ। यसबाट सामाजिक र सांस्कृतिक प्रदूषण बढ्छ।
चुनावमा मतदातालाई प्रभावित गर्न सके सफल भइन्छ भन्ठान्छन् नेताहरु। चुनावमा कार्यकर्ताहरुको महत्त्व बढ्न थाल्छ। विकास, जनहितका कार्यक्रमभन्दा जाति, धर्म, संप्रदाय र क्षेत्रीयताको नाममा मतदातालाई आकर्षित गर्न जान्दछन् उनीहरु।
समर्थक मतदातालाई आफूतिर तान्ने र विरोधीको मतलाई काट्ने विषयमा मात्र चर्चा हुन्छ चुनावमा। चुनाव जित्ने प्रमुख हतियार आरक्षण, सांप्रदायिकता हुन्। दलित र पिछडिएको नाम दिई तिनीहरुलाई शोषणबाट मुक्त गराउने नारा बनाइन्छ। आत्मसम्मान र सामाजिक न्यायको लागि लड्नु राम्रो कुरा हो तर यसलाई चुनावको नारा बनाउन हुँदैन।
बास्तबमा नेपाली जनता परम्परागत राजनीतिबाट वाक्क भैसकेका छन्। देशमा वैकल्पिक राजनीतिको संभावनाहरु छन्। अतः परिवर्तनको चाहना राख्ने बुद्धिजीवीहरुले जनतालाई लोकतान्त्रिक प्रक्रियाप्रति विश्वास दिलाउन सक्नु पर्दछ। आफ्ना हितहरुको पहिचान गराउन तथा उनीहरुलाई संगठित हुने प्रेरणा प्रदान गर्नु पर्दछ। सकभर मत विभाजनलाई रोक्ने प्रयास गर्नु पर्दछ। आवश्यक भए केही संवैधानिक व्यवस्था पनि गर्न सकिन्छ।
केही यस्ता देश पनि छन् जहाँ कुल मतदाताको पचास प्रतिशत भोट नमिले चुनाव प्रक्रियालाई नै अपूर्ण मानिन्छ। हामीले पनि बास्तबिक लोकतन्त्रको लागि प्रयत्न गर्नु जरुरी छ।
नेता कार्यकर्ता र समस्त जनता पार्टी लाइनबाट माथि उठ्नु पर्दछ। विवेकसम्मत ढंगले, लोकतान्त्रिक मूल्यको आधारहरुलाई शिरोपर गर्न सके मात्र लोक कल्याणको मार्गप्रसस्त हुनेछ। लेखक मकवानपुरमा सहायक निर्वाचन अधिकृत हुनुहुन्छ .