काठमाडौं । जिनियस म्युजिक प्रालिले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजित ‘दोश्रो जिनियस म्युजिक अवार्ड’ कार्यक्रम नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७९’ द्वारा पुरस्कृत तथा सम्मान गर्ने भएको छ । दशक बढी समयदेखि गीत, संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसर पारेर सम्मान कार्यक्रम गर्न लागेको कम्पनिव्दारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ । उक्त विज्ञप्तीमा अवार्डका लागि आवेदन फाराम खुला भएको जानकारी गराएको छ । अवार्डमा सहभागिता जनाउनका लागि कम्पनिको आधिकारिक वेबसाइट मार्फत देशभरी आवेदन भर्न सकिनेछ ।
कम्पनीका प्रवन्ध निर्देशक तथा संगीतकर्मी रमेश पाठकका अनुसार २०७७ साल वैशाख १ गतेदेखि २०७९ बैशाख मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत–संगीतले यो अवार्डमा आवदेन दिन सक्ने छन् । यही ज्येष्ठ २० गते टप ५ मनोनयन सार्वजनिकको तयारीमा रहेको कार्यक्रममा ज्येष्ठ १५ गतेसम्म फाराम बुझाउने अन्तिम मिति रहेको जानकारी आयोजकले दिएको छ । २०७९ साल असार अन्तिम साता राजधानी एक भव्य कार्यक्रमको आयोजना गरि यो अवार्ड वितरण गरिनेछ । दोश्रो पटक आयोजना हुन लागेको यो अवार्डमा विभिन्न ४१ विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरिने भएको छ ।