मन्त्री फेर्ने हतारको निर्णयबाट एकीकृत समाजवादी ‘ब्याक’

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

मन्त्री हेरफेर गर्ने निर्णयबाट एकीकृत समाजवादीको नेतृत्व एक दिनमै पछाडि हटेको छ । पार्टीबाट सहभागी मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्तिका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई सूचीसमेत बुझाइसकेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एक दिनमै पछाडि हटेका हुन् ।

ad

 

पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरू प्रेम आले, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अलग–अलग भेटेर आफ्नो पार्टीले गरेको निर्णय कार्यान्वयन नगराउन लबिङसहित दबाब सिर्जना गरेपछि अध्यक्ष नेपाल पछि हट्न बाध्य भएका हुन् ।

उनीहरूले कम्तीमा बजेट पास नभएसम्म हटाइनु संसदीय मर्यादा र नैतिक हिसाबले पनि उपयुक्त नहुने भन्दै गठबन्धनभित्र छलफल गरेर निष्कर्षमा पुग्न देउवा र प्रचण्डमाथि दबाब सिर्जना गरेका थिए । आइतबार पार्टी सचिवालय बैठकलगत्तै निर्णयबारे कुनै जानकारी नभएको बताएर असन्तुष्टि प्रकट गर्न थालेका एकीकृत समाजवादीका मन्त्रीहरूले थमौतीका लागि साँझबाटै लबिङ सुरु गरेका थिए । स्वास्थ्यमन्त्री खतिवडा र सहरी विकासमन्त्री झाँक्रीले आइतबार साँझ प्रचण्ड तथा र चार मन्त्रीले सोमबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर आफूहरूलाई हटाउने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।

तर, संस्कृति पयर्टन तथा नागरिक उड्डयनमन्त्री आलेले आफूहरूले नेतृत्वलाई भेटेर कुनै दबाब सिर्जना नगरेको, बरु बजेट पास नभएसम्मका लागि जवाफदेही बन्न पाउनुपर्ने विषय मात्र उठान गरेको बताए । ‘हामीले निर्णय फिर्ता गर्नुस् भनेर नेतृत्वलाई दबाब दिएका छैनौँ । पार्टीले मन्त्रीहरू हेरफेरको निर्णय गर्नु कुनै ठूलो होइन । तर, अहिले संसद्मा बजेटका विषयमा मन्त्रालयगत छलफल चलिरहेका कारण उपयुक्त समय थिएन । किनभने, मन्त्रीका हिसाबले छलफलप्रति त हामी नै जवाफदेही हुनुपर्ने अवस्था थियो । त्यसैले अहिले नै नगरौँ भन्ने भएको हो,’ उनले भने ।

प्रधानमन्त्री देउवासँग पनि भेटेर कुनै लबिङ नगरेको उनले प्रस्ट्याए । ‘प्रधानमन्त्रीले बोलाउनुभएकाले बालुवाटारमा चारैजना मन्त्री पुगेका थियौँ । म अन्तिमतिर पुगेको थिएँ । प्रधानमन्त्रीज्यूले अहिले हेरफेर हुँदैन, तपाईंहरू काममा फर्किनुस् भन्नुभयो, त्यसपछि हामी फर्कियौँ,’ उनले भने ।

स्वास्थ्यमन्त्री खतिवडाले मन्त्री हेरफेर गर्ने निर्णयबारे कुनै जानकारी नभएको भन्दै बजारहल्ला बजारमै सीमित भएको भन्दै घुमाउरो पाराले असन्तुष्टि जनाए । ‘त्यो बजारमा आएको हल्ला हो, बजारमै सीमित भो,’ सञ्चारकर्मीसँग खतिवडाले भने ।

एकीकृत समाजवादीको आइतबारको बैठकपछि अध्यक्ष नेपालले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई बढुवा गरेर विभागीय मन्त्री बनाउने र बाँकी चार मन्त्रीलाई फिर्ता गरेर नयाँ मन्त्री नियुक्तिका लागि प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरेका थिए । जसअनुसार सहरी विकासमन्त्रीमा मेटमणि चौधरी, जीवनराम श्रेष्ठ संस्कृति, पयर्टन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवर श्रम तथा सामाजिक सुरक्षा तथा हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन सिफारिस गरिएको थियो । उनीहरूलाई सोमबार बिहानैदेखि राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको थियो ।

सामाजिक सञ्जालदेखि नेता–कार्यकर्ता, आफन्तजन र शुभेच्छुकहरूको लगातार बधाई खाँदै आएका उनीहरू शपथको तयारीमा बसेका थिए । तर, सत्तारूढ पाँचदलीय गठबन्धनको शीर्ष बैठकपछि तत्काल हेरफेर नगर्ने गरी परिस्थिति मोडिएपछि उनीहरू तयारी अवस्थाबाट ‘ब्याक’ भएका थिए ।

सहरी विकासमन्त्रीमा सिफारिस भएका चौधरीले सोमबार बिहानैबाट परिस्थिति मोडिएकाले आफूहरू शपथको तयारीमा नरहेको बताए । उनले पार्टी निर्णय स्ट्रङ्ली कार्यान्वयन हुने विश्वास व्यक्त गरे । ‘प्रधानमन्त्रीले गठबन्धन झन् कसिलो बनाउनुपर्ने वेला गठबन्धनको अर्को दलको निर्णयलाई हस्तक्षेप गर्नै मिल्दैन र उहाँले गर्नुभएको पनि होइन । वास्तवमा जसपा र लोसपाको आन्तरिक व्यवस्थापनका लागि रोकिएको हो । त्यसैले हाम्रो पार्टीको निर्णय स्ट्रङ्ली लागू हुन्छ र कार्यान्वयन गर्छौं । त्यसैले बाहिर आएको समाचारमा कुनै सत्यता छैन,’ चौधरीले भने । नयाँ पत्रिका दैनिकमा प्रकाशित

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *