थप छ जनामा कोरोनाभाइरस पुष्टि, सङ्क्रमितको कुल सङ्ख्या २७३

खवर पाटी (खोज खबरको अभियान)

नेपालमा थप छ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको शनिवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अब कुल सङ्क्रमितको सङ्ख्या २७३ पुगेको छ।

मन्त्रालयका अनुसार पर्साका दुई जना तथा बर्दिया, सिराहा, सर्लाही र चितवनका एक-एक जनामा सङ्क्रमण देखिएको हो।

उनीहरूबाट सङ्कलित नमुनाको काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा प्रकाशित विज्ञप्तिमा छ।

शुक्रवार १८ जना सङ्क्रमित फेला परेका थिए।

कहाँ कति सङ्क्रमित छन्?

अहिलेसम्म प्रदेश नं २ मा १०७ र प्रदेश नं ५ मा १०६ सङ्क्रमित फेला परेका छन्।

प्रदेश नं ५ मा सङ्क्रमण पुष्टि भएका सबै जना अहिले आइसोलेशनमा छन् भने प्रदेश नं २ मा केही व्यक्ति निको भएर अस्पतालबाट फर्किएका छन्।

शुक्रवारसम्म कोभिड-१९ पुष्टि भएकामध्ये ३६ निको भएका छन्।

सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ३६ जनामा, वाग्मती प्रदेशका १६, गण्डकी प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशका पाँच जना छन्।

नेपालका छमध्ये कर्णालीबाहेक सबै प्रदेशमा कोभिड-१९ भेटिएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रवार अपराह्णसम्म १५,८६३ व्यक्ति देशका विभिन्न स्थानमा क्वारन्टीन रहेका छन्।

तीमध्ये प्रदेश नं ५ मा सबैभन्दा धेरै ८,३२५ जना र वाग्मती प्रदेशमा सबैभन्दा कम ११७ जना छन्।

मन्त्रालयले शुक्रवार दिउँसो ३:२० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार त्यति बेलासम्म पीसीआर विधिवाट जम्मा २३,९१४ वटा र आरडीटी विधिबाट ६३,०८५ वटा परीक्षण गरिएको जनाएको छ ।  – bbc/Nepali

Facebook Comments Box