विश्व संगीत दिवस मनाउँदै सांगीतिक संघले दियो राष्ट्रिय सम्मान तथा पुरस्कार

मनोरञ्जन समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल सांगीतिक संघले काठमाडौंमा विश्व संगीत दिवसको अवसर पारेर कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार अर्पण गरेको छ । मुलुकका सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त ‘विश्व संगीत दिवस एवं सांगीतिक संघ राष्ट्रिय सम्मान तथा पुरस्कार’ कार्यक्रममा विभिन्न ७ कलासाधक तथा पत्रकारलाई राष्ट्रिय सम्मान अर्पण गरेको हो ।

कार्यक्रममा विशिष्ट योगदान पु¥याएका अमर स्रष्टाका स्मृतिमा स्थापना गरिएको पुरस्कार तथा सम्मान अन्तर्गत अमर स्रष्टा शिवशंकर मानन्धर राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार (रु.२५०००) बाट वरिष्ठ कला साधक मुरली धरलाई सम्मानित गरिएको थियो । त्यस्तै अमर स्रष्टा पुष्प नेपाली राष्ट्रिय सांगीतिक युवा सम्मान तथा पुरस्कार (रु.२५०००) बाट वरिष्ठ कला साधक कुमार बस्नेतलाई सम्मानित गरिएको थियो । फत्तेमान राज भण्डारी राष्ट्रिय सांगीतिक युवा सम्मान तथा पुरस्कार (रु.२५०००) बाट लोकप्रिय पप गायक धिरज राईलाई सम्मानित गरिएको थियो ।

त्यस्तै लोकप्रिय निर्देशक तथा कलाकार विकास घले गुरुङले आफ्नो आमा तथा बुबाको नाममा स्थापना गरेको ‘लाल समुन्द्रा बहुप्रतिभाशाली सांगीतिक सम्मान तथा पुरस्कार’ (रु.२५०००) बाट महजोडीलाई सम्मानित गरिएको थियो । त्यसैगरी नेपाल सांगीतिक संघ राष्ट्रिय सम्मान तथा पुरस्कार (रु.२५०००) बाट वरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापालाई राष्ट्रिय सम्मान अर्पण गरिएको थियो भने नेपाल सांगीतिक संघ राष्ट्रिय कला पत्रकारिता सम्मान तथा पुरस्कार (रु.५०००) बाट वरिष्ठ पत्रकार शान्तिप्रियलाई सम्मानित गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा विगतदेखि नै नेपाल सांगीतिक संघलाई सहयोग पु¥याउँदै आएका लोकप्रिय गायक गणेश पराजुली, गीतकार डब्बु क्षेत्री, कलाकार विक्रमजंग शाह, समाजसेवी विनोद कुमार तामाङ, रमन बस्नेत, नवराज तामाङलाई कदर पत्र प्रदान गरिएको थियो । विश्व संगीत दिवस एवं सम्मान तथा पुरस्कार कार्यक्रमकै अवसर पारेर दश जना स्रष्टा कलाकारलाई आजीवन सदस्यता समेत प्रदान गरिएको थियो । जसमा गीतकार किरण के. उप्रेती, गीतकार निरोज भट्ट, गायक सन्तु थापा, गायिका सीता केसी, गायिका पूर्णिमा लामा, मोडल नारायण ढकाल, निर्देशक पूर्ण बहादुर थापा, निर्देशक दीप गुरुङ, संगीतकार दिपक शर्मा, संगीत संयोजक आमोश तामाङलाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल सांगीतिक संघको योगदानको चर्चा गर्दै कला क्षेत्रका सबैमा विश्व संगीतको शुभकामना प्रदान गर्नुभयो । एकातिर विश्व संगीत दिवसको रुपमा मनाइरहँदा अर्कोतिर मुलुकभित्र रहेका कलाकारहरुमा आपसी सद्भाव कायम गर्दै कला संस्कृतिको जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमहरु लाभदायी र फलदायी बन्दै आएको उपराष्ट्रपति पुनले भन्नुभयो । त्यसैगरी संघद्वारा सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुलाई हार्दिक बधाई तथा शुभकामना दिँदै मुलुकको कला संस्कृतिमा सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो ।
नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष आशिष अबिरलले उपस्थित अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रम महासचिव सुमन पण्डितले संचालन गर्नुभएको थियो । कार्यक्रममा सम्मानितहरुको तर्फबाट वरिष्ठ गायक कुमार बस्नेतले मन्तव्य दिँदै सांगीतिक संघ स्थापनाको सन्दर्भमा कलाकारहरुलाई प्रष्ट पार्नुभएको थियो । त्यस्तै नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको तर्फबाट शाखा अधिकृत लालबहादुर बस्नेतले स्रष्टाहरुको नैतिक, बौद्धिक र आर्थिक अधिकारबारे प्रष्ट पार्नुभएको थियो ।

नेपाल सांगीतिक संघको आयोजनामा भएको यो ‘विश्व संगीत दिवस’ मा नेपाल प्रतिलिपि रजिष्ट्रारको कार्यालय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, संगीत उद्योग संघ नेपाल, राष्ट्रिय संगीतकर्मी संघ, म्यूजिक नेपाल, साधना कला केन्द्र एवं म्यूजिक खबरको सहआयोजना रहेको थियो । कार्यक्रमलाई नेपाल वायुसेवा निगम, नबिल बैंक लि., सिभिल बैंक लि., सेन्चुरी बैंक लि., श्री लालीगुराँस बहुद्देश्यीय सहकारी संस्था लि.सिटि एक्सप्रेस मनि ट्रान्सफरले प्रायोजन गरेको थियो ।

कार्यक्रममा गायिका टीका पुन, गायक याम बराल, गायक मुरलीधर, गायक गणेश पराजुली, गायक मदनकृष्ण श्रेष्ठ, गायक यमन श्रेष्ठ, गायिका सीता केसी, गायिका मन्जु पौडेल, गायक विश्व नेपाली, गायक धिरज राई, गायक डा.गौरीशंकर मानन्धर, गायिका निता गजमेर, गायिका आशा लामा, गायक प्रकाश तिमिल्सिना, गायक सरोज कोइराला लगायतले सांगीतिक प्रस्तुति दिनुभएका थियो । नेपाल सांगीतिक संघ २०५६ सालमा स्थापना भएको हो । वरिष्ठ लोक गायक कुमार बस्नेतको अध्यक्षतामा स्थापना भएको यो संस्था सम्पूर्ण संगीतकर्मीहरुको एकमात्र छाता संगठनको रुपमा स्थापित छ । गीतसंगीत क्षेत्रको सबैभन्दा पुरानो संस्थाका परिचित यो संस्थामा वरिष्ठ गायक कुमार बस्नेत, गायिका मिरा राणा, गायक रुबि जोशी, गायिका कोमल वली, गायिका तारा थापा हुँदै हाल संगीतकार मिलन मोक्तानको नेतृत्वमा रहेको छ ।

यस संस्थामा गीतसंगीतका सम्पूर्ण विधाहरु लगायत चलचित्र ललितकलाका विधाहरुलाई समेत मान्यता दिँदै सदस्यता प्रदान गरिएको छ । यस संस्थाले गीतसंगीतका स्रष्टा सर्जक तथा कलाकारलाई आपत विपद परेको बेला होस् या उपचार नपाएको अवस्थामा होस् सहयोग गर्दै आएको छ । त्यस्तै स्वर्गारोहण भएका स्रष्टा कलाकारलाई सांगीतिक संस्कारसहित अन्त्येष्टि गराउने कार्यमा पनि यो संस्था सदैव लागिरहेको छ । मुलुकमा आइपर्ने महामारी एवं दैविक प्रकोपबाट स्रष्टा कलाकारलाई पर्न गएको दुःखमा पनि साथ दिँदै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *