काठमाडौँ – गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार शान्तिवाटीकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरूले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । आफूहरूको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकोले प्रर्दशन गर्नु परेको उनीहरूको भनाइ छ ।
सोमबार (हिजो) काठमाडौंको शान्तिवाटीकामा प्रहरीसँगको झडपमा परी उनीहरू घाइते समेत भएका थिए । शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरूलाई सरकारले दमन गरेको भन्दै मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आपत्ति जनाए ।
उनले आफूहरूको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए । मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन् ।