सरकारले निष्पक्ष निर्वाचनको ग्यारेन्टी गर्नुपर्छ : प्रकाशमान

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार काठमाडौंमा भएको मंगलादेवी सिंहको २७ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन निष्पक्ष र धाँदलीरहीत हुनुपर्नेमा जोड दिए।

उनले यस अघिका निर्वाचन पनि नेपाली कांग्रेसले इमान्दारिता पूर्ण गरेको र अहिले पनि कांग्रेसकै नेतृत्वमा सरकार रहेकोले धाँदलीरहीत निर्वाचन गराउनतर्फ सरकार लाग्नुपर्ने बताए।

नेता सिंहले निर्वाचनपछिको नयाँ सरकारले संविधानले दिएका अधिकारलाई सुरक्षित र संस्थागत गर्दै नागरिकले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा ध्यान दिनुपर्ने बताए। उनले आगामी दिनमा नेपाली कांग्रेस आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा लाग्ने बताए।

उनले भने, ‘चुनावी माहोलमा देश होमिसकेको छ। काँग्रेसले नै अहिलेको सरकारको नेतृत्व गरिरहेकोले निर्वाचन अहिलेसम्म पनि निर्वाचन गराउने काममा इमान्दारिता निभाएको छ। अहिले पनि निर्वाचन निष्पक्ष हुनुपर्‍यो। धाँदलीरहीत गराउनको लागि ग्यारेन्टी गराउनतर्फ सरकार लाग्नुपर्छ । दलहरुले पनि त्यही भावनाअनुसार अघि बढ्नुपर्छ।।’

नेता सिंहले कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भएपनि संविधानलाई कार्यान्वयन गर्ने बेलामा कम्युनिष्ट पार्टी सत्तासिन रहँदा आवश्यक कानुन निर्माण नगरेको आरोप लगाए। उनले नयाँ संविधानको भावना र मर्मअनुसार आवश्यक कानुन निर्माण गर्न नसक्दा अहिले प्रदेश सरकारले केन्द्र सरकारको विरोध गरिरहेको बताए।

उनले कम्युनिष्ट पार्टीका सरकारले संघीय कानून समयमा नबनाइदिँदा संघीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महशुस गर्ने गरेर अघि बढाउन नसकेको बताए।

नेता सिंहले राणाकालमा समेत महिलालाई पढाउनुपर्छ भनेर अधिकार स्थापित गर्न र महिलालाई शिक्षाका लागि मात्रै नभई मतदानको अधिकार दिलाउन पनि मंगलादेवी सिंहले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनको स्मरण गरे।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *