मस्को । पूर्व सोभियत संघका नेता मिखाइल गोर्बाचोभको निधन भएको छ। शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत संघका नेता गोर्बाचोभको ९१ वर्षको उमेरमा मंगलबार राति रूसको सेन्ट्रल क्लिनिकल हस्पिटलमा निधन भएको हो।
पछिल्ला वर्षमा उनको स्वास्थ्यस्थिति बिग्रँदै गएको थियो। जसका कारण धेरै पटक अस्पताल भर्नासमेत हुनुपरेको थियो। यसै वर्षको जुनमा केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गोर्बाचोभलाई मिर्गौला रोगका कारण अस्पताल भर्ना गरिएको दाबी गरेका थिए। तर, गोर्बाचोभको मृत्युको कारण भने खुल्न सकेको छैन।
गोर्बाचोभको अन्त्येष्टि मस्कोमा हुनेछ। रूसी समाचार एजेन्सी टासका अनुसार उनलाई सन् १९९९ मा मृत्यु भएकी उनकी श्रीमती राइसाको चिहान नजिकै नोवोडेभिची कब्रिस्तान नजिकै गाडिनेछ। गोर्बाचोभ तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति हुन्। उनले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निभाएका थिए।
सन् १९८५ देखि सन् १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उनले सोभियत संघको पतन भने रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो। उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन्। यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्बाचोभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन्।