सिट बाँडफाँटको परिणाम आज आउन सक्छ : सञ्चारमन्त्री

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौ । सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको प्रारूपमा सहमति नजिक पुग्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकमा मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँटको औपचारिक सहमति नजिक पुग्नुभएको हो।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरू सिट बाँडफाँटको विषयमा निरन्तर छलफल गरिरहनुभएको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बिहान ११ बजे बैठक बस्ने र निर्णय सार्वजनिक गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी निष्कर्षको नजिक पुगेका छौँ। बैठकमा गम्भीर रूपले छलफल भयो। तपाईंको प्रश्न हुनसक्छ, छलफल सकारात्मक भयो, परिणाम किन सकारात्मक भएन भन्ने। परिणामको नजिक पुगेका छौँ।”

मन्त्री कार्कीले सिट बाँडफाँट निश्चय नै चुनौतीपूर्ण छ भन्दै बिहीबार बस्ने बैठकपछि निर्णयमा पुगेर सार्वजनिक गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार सिट बाँडफाँटको विषयमा विभिन्न खाकामा छलफल भएको छ। उहाँले भन्नुभयो, “कुन मोडालिटी प्रभावकारी र न्यायोचित हुन्छ, त्यसलाई दृष्टिगत गरेर राजनीतिक निर्णय गर्छौं।” अन्य राजनीतिक दलहरूलाई गठबन्धनमा सरिक गर्दा सिटको विषयमा कुरा हुने भएकाले त्यस विषयलाई पनि ध्यान दिएर छलफल भएको मन्त्री कार्कीले बताउनुभयो। पाँच दलको आआफ्नो दाबीमा घट्ने–बढ्ने र सबै पार्टी कुरा आफूले जितेको अनुभूति हुने गरी निर्वाचनमा जाने उहाँले बताउनुभयो।

यसैबीच नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सत्ता साझेदार पाँच दलबीच सहमति कायम गरेर आगामी निर्वाचनमा जाने निर्णय गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न बुधबार बिहान बसेको बैठकले मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटमा सहमति कायम गरेर जाने निर्णय गरेको हो। नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले संवैधानिक व्यवस्थाअनुसार सरकार निर्माणका लागि गठबन्धन गर्नुपर्ने आवश्यकता बोध गराएकाले पाँच दलबीच चुनावी तालमेल गर्नुपर्ने बैठकको निष्कर्ष रहेको बताउनुभयो। राठौरले भन्नुभयो, “अहिलेको राजनीतिक अवस्थालाई सही ठाउँमा ल्याउन र देशलाई समुन्नतिको बाटोमा अघि बढाउन पाँच दलबीच गठबन्धन गर्ने, प्रभावकारी बनाउने र साझा कार्यक्रम लिएर जनतामा जाने निर्णय भएको छ।”

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *