वीरगन्ज । एमाले पार्टीमा प्रवेश गर्नेहरुमा पूर्व सांसद तथा कालो सूचिमा दर्ज भई दण्डित भएका नेपालकै चर्चित पूर्व ठेकदार हरिनारायण रौनियार लगायत अन्य पार्टीका पनि नेता कार्यकर्ता लाइनमा रहेको एमाले नेताहरुले जनाएको छ ।
पर्साको पोखरियामा कुल २५ हजार जति नेता कार्यकर्ता र सर्वसाधारण सहभागी कार्यक्रममा करिब २ हजार जति मानिसलाई पार्टी प्रवेश गराइने एमालेका नेताहरुको दावी छ । राष्ट्रियस्तरका अन्य दलका पनि नेता कार्यकर्ता प्रवेश गराइने एमाले पर्साका नेताहरुले बताए । पूर्व सांसद रौनियार वाहेक अरुको भने नाम उनीहरुले गोप्य नै राखे ।
‘मिसन २०८४’ को लक्ष्य लिएर हिडेको नेकपा एमालेको ध्यान जनघनत्वको चाप रहेको मधेश तर्फ सोझिएको छ । राजनीतिक स्थायित्व विना मुलुकमा अवाञ्छित गतिविधि बढिरहेको समयमा एमालेको ध्यान भने मधेशतर्फ सोझिएको हो ।
दीर्घकालिन लक्ष्य सहितको नीति बोकेर हिडेको राष्ट्रिय पार्टीले मुलुक हाक्न नपाएपछि एमाले आगामी २०८४ सालको निर्वाचनलाई केन्द्रविन्दुमा राखेर आफ्ना गतिविधि भूँईंतहसम्म पु¥याइरहेको छ । त्यसका लागि अन्य पार्टीका नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउनेदेखि निष्कृय नेता कार्यकर्तालाई पनि परिभाषित काममा खटाउँदैछ एमाले अगाडी बढिरहेको छ । त्यसैको ताजा उदाहरण हो एमाले अध्यक्ष केपी शर्मा ओली स्वयम् १८ दिनको अन्तरालमा पुनः पर्सा आउने कार्यक्रम पनि । उनी आगामी मंसिर ५ गते पर्सामा बृहत पार्टी प्रवेश र बृहत आमसभालाई सम्बोधन गर्न आउने पक्का भइसकेको एमालेले जनाएको छ । यो कुरा एमाले पर्साका इन्चार्ज तथा पार्टीका पोलिटव्यूरो सदस्य अच्युत मैनाली सहितका जिम्मेवार नेताहरुले शुक्रबार वीरगन्जमा पत्रकार सम्मेलन नै गरी आधिकारिक रुपमा पुष्टि गरे ।
पत्रकार सम्मेलनमा एमाले पोलिटव्यूरो सदस्य सुमन प्याकुरेल, केन्द्रिय सदस्य प्रभु हजारा, मधेश प्रदेश सदस्य शम्भु गुप्ता, पर्सा संयोजक डा.विश्वम्भर शर्मा लगायतको उपस्थिति रहेको छ । जिम्मेवार उक्त नेताहरु उपस्थित कार्यक्रममा आगामी मंसिर ५ गते पर्साको पोखरियामा हुने बृहत पार्टी प्रवेश र बृहत आमसभामा पार्टी अध्यक्ष ओली नै सहभागी हुने उनीहरुले बताए । अध्यक्ष ओलीले यहाँ वृहत पार्टी प्रवेश गराई बिशाल आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पर्सा इन्चार्ज तथा पोलिटव्यूरो सदस्य अच्युत मैनालीले पर्सेली संचारकर्मी सामु बताए ।
१८ दिनपछि एमाले अध्यक्ष पर्सा आउँदै
मधेश केन्द्रित गतिविधि बढाइरहेको एमालेका अध्यक्ष केपी शर्मा ओली गएको कार्तिक १८ गते पनि पर्साको वीरगन्जमा भएको कार्यक्रममा सहभागी भएर फर्किएका थिए । सो दिन एमालेका मधेशस्थित नेता कार्यकर्तालाई पार्टीको परिभाषित काम बाहेक बाहिर गएर हिरो नपल्टिन भन्दै उनले कडा निर्देशन दिएका थिए ।
यसको १८ दिन नवित्दै पुनः पर्सामा नै पुगी ठूलो संख्यामा अरु दलका नेता कार्यकर्ता पार्टी प्रवेश गराई वृहत आमसभालाई उनले संबोधन गर्ने कार्यक्रम तय भएको छ । पार्टी नीति विपरित जनताका काम वाहेक गफ र आफैं ठालु पल्टिने नेता कार्यकर्ता तर्फ संकेत गर्दै उनले गएको कार्तिक १८ गते मधेशका नेता कार्यकर्तालाई जनहितमा काम गर्न निर्देशन दिएका थिए । पोखरिया बजारमा रहेको विद्यालय परिषरमा हुने कार्यक्रममा अध्यक्ष ओलीले फेरि के भन्छन् ? सो थाहा पाउन अझ ४ दिन कुर्नै पर्ने भएको छ ।
राष्ट्रियता र जनजिबीकाका पक्षमा एमाले वाहेक अरु कुनै पार्टीले राम्रो काम गर्न नसक्ने निष्कर्ष एमालेको छ । त्यसैले आगामी २०८४ सालको निर्वाचनमा एक्लै बहुमतको सरकार बन्ने गरी हरेक वडामा ५१ प्रतिशत मत ल्याउने गरी खट्न एमालेले पार्टीका सबै नेता कार्यकर्तालार्ई सुझाव पनि दिदै आएको छ ।
सो अभियानमा जाँदा एमालेले विगतमा गरेको विकास तथा समृद्धिका एजेण्डा र राष्ट्रियताको मुद्दालाई केन्द्रविन्दुमा राखेर अगाडी बढ्न एमालेले संकेत नै गरेको छ । एमालेको सुदृढ छविबाट अतालिएकाहरुले नेपाली जनतालाई विभिन्न कोणबाट भ्रम छर्न सक्ने कुरालाई मध्यनजर गर्दै जनताको हितमा काम गर्न एमालेले आफ्ना नेता कार्यकर्तालाई सजग पनि गराएको छ ।