भीआईपीका लागि खटाइएका सुुरक्षाकर्मी बीओपीलाई दिन प्रस्ताव, भारततर्फ बराबरकै बीओपी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी)को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ ।

हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी रहेकामा सो संख्या बढाएर ५ सय पु¥याउने गरी गृह मन्त्रालयले तयारी थालेको हो । त्यसका लागि गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीलाई खाका बनाउन निर्देशनसमेत दिइसकेका छन् ।

बीओपीलाई २ सय २१ बनाउने निर्णय पहिले नै भइसकेको हो । त्यसलाई पनि बढाउने गरी हामीले खाका तयार गरिरहेका छौं । संख्या यति नै भन्ने टुंगो भएको छैन । ठूलो संख्यामा बढ्ने गरी तयारी भइरहेको छ ।
                                शैलेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले भारत र चीन दुवैतर्फ स्थायी बीओपीको संख्या बढाउने गरी तयारी गरिएको र सोहीअनुसारको खाका तयार भइरहेको जानकारी दिए ।

‘बीओपीलाई २ सय २१ बनाउने निर्णय पहिले नै भइसकेको हो । त्यसलाई पनि बढाउने गरी हामीले खाका तयार गरिरहेका छौं,’ सशस्त्र प्रहरीका महानिरीक्षक खनालले राजधानीसँग भने, ‘संख्या यति नै भन्ने टुंगो भएको छैन । ठूलो संख्यामा बढ्ने गरी तयारी भइरहेको छ ।’

भीआईपीका लागि खटाइएका सुुरक्षाकर्मी सीमामा थपिँदै १ सय ११ स्थानमा रहेका जग्गा बीओपीलाई दिन प्रस्ताव

गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य पथिकका अनुसार विगतका दिनमा सही ढंगले सीमा सुरक्षा हुन नसकेको अवस्थामा सरकारले सीमाको सुरक्षालाई बलियो बनाउने नीति छ । उनले हाल कायम रहेको बीओपीको संख्या बढ्दा दूरीसमेत व्यापक रूपमा घट्ने जानकारी दिए ।

‘पहिले २५ देखि ५० किलोमिटरको दूरीमा बीओपी थिए । अहिले आधा दूरी कम रहने गरी बीओपी थप भइसकेका छन् । अब नयाँ बीओपी स्थापना हुँदा ३ देखि ५ किलोमिटरको दूरीमा रहने गरी तयारी भइरहेको छ,’ पथिकले भने ।

हाल नेपालतर्फको सीमा नाकामा भारततर्फका ५ सय ३० बीओपी सञ्चालनमा छन् भने नेपालतर्फका सशस्त्र प्रहरीका १ सय २० बीओपी मात्रै स्थायी रूपमा खडा छन् । ती बीओपीमा ५ हजार जनशक्ति खटाइएको छ ।

पछिल्लो समय सशस्त्र प्रहरीले कोरोना संक्रमणको सन्त्रास बढ्दै गएपछि उत्तरी र दक्षिणी नाकातर्फ कडाइ गर्दै धमाधम अस्थायी चेक पोस्ट स्थापना गरिरहेको छ । कोरोना संक्रमणको सन्त्रासपछि हाल १ हजार २ सय १३ अस्थायी चेक पोस्ट सीमा नाकामा स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सरकाले यही मौकामा सीमाको सुरक्षालाई दीर्घकालीन बनाउने गरी स्थायी बीओपी नै राख्ने गरी प्रक्रिया अघि बढाएको हो । सशस्त्र प्रहरीले बीओपीको संख्या बढाउँदा त्यही अनुपातमा जनशक्ति परिचालन गर्न ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव गृहमन्त्रीसमक्ष गरिसकेको छ ।

गृहमन्त्री थापाले भने भीआईपीका सुरक्षामा खटाइएका ठूलो संख्याको जनशक्तिलाई फिर्ता ल्याउने र सीमामा पठाउने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेका छन् ।

‘गृहमन्त्रीज्यूले पूर्वभीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका जनशक्तिलाई कटाएर सीमामा पठाउन मन्त्रिपरिषद्मा प्रस्ताव गर्नुभएको छ । अन्य स्थानमा जगेडा रहेकालाई पनि सीमामा पठाउने काम भइरहेको छ,’ गृहमन्त्रीका सल्लाहकार पथिकले भने ।

हाल एक बीओपीबाट अर्को बीओपी सरदरमा १५ किलोमिटरको दूरीमा छ भने प्रत्येक स्थायी बीओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी खटिएका छन् । तर, बीओपीको संख्या बढेर ५ सय पुग्दा एक बीओपीबाट अर्को बीओपीको दूरी करिब साढे तीन किलोमिटर हुने सशस्त्र प्रहरीको अनुमान छ । सशस्त्र प्रहरीले हाल प्रत्येक प्लाटुनमा रहेको संख्यालाई बढाउनसमेत प्रस्ताव गर्दै छ ।

गृहमन्त्री थापाले बीओेपी रहने स्थान, आवश्यक पूर्वाधारलगायत विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक खनाललाई निर्देशनसमेत दिइसकेका छन् ।

थप हुने स्थायी बीओपीका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयअन्तर्गत रहने भन्सारको १ सय ११ स्थानमा रहेका जग्गा बीओपीलाई दिन प्रस्तावसमेत गरेको छ । यस्तै, अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न भनिएको छ ।

गृह मन्त्रालयको नेतृत्वमा थापा आउनुअघि सीमा क्षेत्रमा ८७ वटा स्थायी बीओपी सञ्चालित थिए । थापाले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सो संख्या बढाएर १ सय २० पु-याएका हुन् । यसअघि थापाले सो संख्यासमेत बढाएर २ सय २१ पु¥याउने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए भने सो प्रस्ताव पारित भइसकेको थियो ।

भारतसँग नेपालको करिब १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि सीमा जोडिएको छ । हालसम्म सबै स्थायी बीओपीमा गरी सशस्त्र प्रहरीका ४ हजार २ सय जनशक्ति सीमा सुरक्षामा खटिएका छन् । हाल सशस्त्र प्रहरीको कुल दरबन्दी ३७ हजार १ सय १७ छ ।

-राजधानी

Facebook Comments Box