गठबन्धनको बैठक आज पनि बस्दै

राजनीति
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- पाँच दलीय गठबन्धनको बैठक आज पनि बैठक बस्दै छ। सिट बाँडफाँडका लागि सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि मंगलबार पुनः बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिइन्।

उनका अनुसार आज बिहान सुरुमा आन्तरिक बैठक बसेर ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्नेछ। हिजो साँझसम्म सिट बाँडफाँटमा ठोस प्रगति हुन नसकेको उनको भनाइ छ। आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ।

 

सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ। गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

त्यतिबेला साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो। तर, दुई महिना पुगिसक्दा पनि गठबन्धनले भागबन्डा मिलाउन सकेको छैन।

हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई थोरै सिटमा सीमित गर्न लागिएको भए त्यो स्वीकार्य नहुने स्पष्ट अडान राख्दै त्यस्तो अवस्थामा गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि थोरै सिट दिन लागिएको भन्दै असन्तुष्टि जनाएका थिए । नेताहरूले धेरैजसो जिल्लामा सिट बाँडफाँटमा मोटामोटी सहमति जुटिसके पनि बाँकी रहेका जिल्लामा सबैले आआफ्ना अडान नत्यागेको बताए। अडान कायमै रहँदा बैठकले सहमतिको मिलनबिन्दू पहिल्याउन नसकेको बताइएको छ।

प्रतिनिधिसभाका सिटमा मात्र नभएर प्रदेश सभाका धेरै सिटमा दलहरुबीच सहमति जुट्न बाँकी छ। कतिपय ठाउँमा कांग्रेस र माओवादीले दावी छाडेका छैनन् भने कतिपयमा एस र जसपा पनि पछि हटेका छैनन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *