काठमाडौं । मंसीर ४ गते हुन गइरहेको निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ मा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठ र सत्ता गठबन्धनको तर्फबाट माओवादी नेतृ कल्पना धमला चुनावी मैदानमा उत्रिएका छन् । यसै क्षेत्रमा राप्रपाका देवेन्द्र प्रधान, विवेकशील साझाका पूर्वअध्यक्ष मिलन पाण्डे, स्वतन्त्र उम्मेदवारको रुपमा विद्या श्रेष्ठ महर्जन लगायतका उम्मेदवारहरुको पनि उम्मेदवारी परेको छ। नेकपा एमालेका प्रभावशाली नेता कृष्णगोपाल श्रेष्ठ यसअघि ०७४ को निर्वाचनमा पनि निर्वाचित भएका थिए ।
अघिल्लो पटक नेपाली कांग्रेससँग जित निकालेका श्रेष्ठलाई यस पटकको निर्वाचनमा विजयी हुन कडा संघर्ष गर्नुपर्ने देखिन्छ । विशेषगरी एमाले र कांग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने गरेको यस क्षेत्रमा यसपटक सत्ता गठबन्धनको तर्फबाट माओवादी नेतृ कल्पना धमलाले श्रेष्ठलाई कडा चुनौती दिने देखिएको । गत निर्वाचनमा श्रेष्ठले २२ हजार ८५२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नेता ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मतले पछ्याएका थिए । यस पटक नेकपा एमालेमा आएको फुटका कारण पनि श्रेष्ठलाई केही समस्या थपिनेछ । यस्तै विवेकशील साझाका नेता मिलन पाण्डेको मत ४ हजार ९४९ मत प्राप्त गरेका थिए । काठमाडौं क्षेत्र नं ९ मा काठमाडौं महानगरपालिकाका वडा नं १२, १४, २१ र २२ चन्द्रगिरि नगरपालिकाको वडा नं १, १२, १३, १४ र १५ र नागार्जुन नगरपालिकाका ६, ७, ८, ९ र १० नम्बर वडाहरु समेटिएका छन्। स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा काठमाडौं–९ मा कांग्रेसको २० हजार ३४९, एमालेको २१ हजार ३६९, राप्रपाको २ हजार ४०१, माओवादीको ६९५, एकीकृत समाजवादीको ४६५ मत देखिन्छ।