काठमाडौं। सूर्योपासनाको महापर्व छठको मुख्य दिन आज जलाशय किनारमा ब्रत, पूजा र कीर्तन गरी मनाइँदैछ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी भोलि बिहानको उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुनेछ। अस्ताचलगामी सूर्यको उपसाना गरिने पर्व यो मात्रै हो।
पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन्। त्यसपछि घरको देवीदेवताको पूजामा चढाइएको खीर प्रसादका रुपमा ब्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ। यस विधिलाई खरना भनिन्छ।
षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरिन्छ। भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ।
यस पर्वमा सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ। यो पर्व एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ। खासगरी मनोकामना पूर्ण भएपछि यो पर्व शुरु गर्ने गरिन्छ।
आरोग्य भास्करदिच्छेत मूल उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा कतिपय ब्रतालुले परिवारको कल्याण र सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका भाकल पूरा भएपछि पर्व शुरु गरेका हुन्छन्।
पर्व मनाउने परिवारका कुनै व्यक्ति उपवासमा बस्न नसक्ने अवस्थामा छन् भने जोकोही ब्रतालुले तिनीहरुको प्रसाद लिएर सूर्यलाई अर्पण गर्न सकिने समेत सुविधा रहेको छ।
धार्मिक ग्रन्थ पुराणमा उल्लेख गरिएको छ, “शौनकमुनिले सुतजीसमक्ष पृथ्वीमा थुप्रै मानिस रोगले ग्रस्त, कतिपयलाई सन्तान छैन् यस्ता व्यक्तिका कल्याणका लागि कुनै उपाय छ कि छैन भनेर जिज्ञासा राख्दा उहाँले प्राचीनकालमा एक दुष्ट क्षत्रीय राजा यक्ष्मा रोगबाट पीडित थिए। एक ब्राह्मणको सल्लाहमा उहाँले सूर्यदेवको विधिवत् रुपमा चार दिनसम्म छठ पर्वको रुपमा पूजापाठ गरेपछि सो रोगबाट मुक्ति पाउनुभयो। त्यसपछि, यो पर्वले विधिवत् रुपमा शुरु भएको विश्वास गरिन्छ।”