काठमाडौँ — दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको क्रममा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ भने ७६ भन्दा धेरै घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार शनिबार साँझ दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा कम्तीमा पनि १४९ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
राजधानी सोलको एक नाइट स्पटमा ठूलो संख्यामा हलोविन मनाउनका लागि मानिसहरू जम्मा भएका थिए । कोभिड-१९ महामारीपछिको यो नै पहिलो हलोविन भएकाले पनि धेरै मानिसहरू जम्मा भएको बताइएको छ । रिपोर्टका अनुसार यहाँ करिब १ लाख मानिस भेला भएका थिए ।
घाइतेहरूको उपचार अस्पतालमा भइरहेको छ । भागदौडका कारण सयौंलाई हृदयघात भएको बताइएको छ । घटनाको कारण भने अझै खुलिनसकेको समाचार एजेन्सी योनहेपलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
भागदौडका कारण भीडमा सास फेर्नसमेत गाह्रो भएको उक्त र्यालीमा सहभागीले बताएको अग्निशमन विभागका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।कान्तिपुर दैनिकबाट