काठमाडौं– सत्तासिन दल नेकपा एकीकृत समाजवादीले नागरिकता समस्यको दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सोमबार सार्वजनिक गरिएको घोषणापत्रमा एकीकृत समाजवादीले नागरिकता समस्याको दीर्घकालीन सामाधान खोज्ने उल्लेख गरेको छ ।
५४ पृष्ठको लामाे चुनाव केन्द्रित घोषणापत्रमा ‘नागरिकता समस्याको दीर्घकालीन समाधान’ शिर्षकअन्तर्गको बुँदामा एकीकृत समाजवादीले नेपाली नागरिकका सन्तान तथा वास्तविक नेपालीहरुले सहजतापूर्वक नागरिकता पाउनुपर्ने बताएको छ । एकीकीत समाजवादीले वैवाहिक अंगीकृतलगायत नागरिकता सम्बन्धी समस्या समाधानका लागि ठोस कदम कानुन निर्माण गर्ने पनि बताएको छ । ‘ठोस कानुन निर्माण गरी वैवाहिक अङ्गीकृत लगायतका नागरिकता सम्बन्धी समस्या समाधान गर्न हाम्रो पार्टी प्रतिवद्ध छ,’ घोषणपत्रमा लेखिएको छ, ‘लामो समयदेखि नेपालमा बसोबासका साथै पेसा व्यवसाय गरेर बसेका व्यक्तिहरूलाई व्यवसायमा लगानी गर्न व्यवसायिक तथा आवासीय जग्गा खरिद गर्ने लगायतकाममा सहजता प्रदान गर्ने गरी कानून निर्माण गर्न पहल गरिने छ ।’