‘बातलाबा’ को २४औँ शृंखलामा कवि अर्यालकृत कृति समीक्षा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कवि शेखर अर्यालद्वारा लिखित ‘काकालाई चिठी’ कवितासंग्रह र ‘कलम’ बालकविता संग्रहमाथि परिचर्चा गरिएको छ । अखिल नेपाल लेखक संघको आयोजनामा पुतलीसडकस्थित पद्मोदय माविमा ‘बातलाबा’ को २४औँ शृंखलामा कवि अर्यालकृत कृति समीक्षा तथा परिचर्चा गरिएको हो । कार्यक्रममा डा.शेखरकुमार श्रेष्ठले ‘काकालाई चिठी’ संग्रहमा प्रगतिशील विचारका कविताका साथै राजनीतिक, सामाजिक तथा वैदेशिक हस्तक्षेपको विरोध रहेको बताए । उनले न्याय, सञ्चार र देशप्रेमका कविता सशक्त रूपमा आएको जिकिर गरे ।

उनले भने, ‘तीमध्ये राजनीतिक विषयक्षेत्रका कविता धेरै रहेका छन् । देश प्रजातन्त्रबाट गणतन्त्रमा प्रवेश गरे पनि वास्तविक परिवर्तन नभएको कुरा व्यक्त गरिएको छ । देश विकासका लागि अब अर्को क्रान्ति आवश्यक भएको कुरा कविबाट व्यक्त भएको कुरा कवितामा अभिव्यक्त छ । नेपाली सर्वहारावर्ग अर्काको काम गर्ने दास नबनी आफ्नो उन्नतिको काममा लाग्नुपर्ने भाव कवितामा अभिव्यक्त छन् ।’ समीक्षक श्रेष्ठले कवितामा रीति तथा पद संयोजनले सिर्जना सशक्त हुनुपर्नेप्रति ध्यान दिन आवश्यक रहेको कुरा बताए । त्यस्तै, कलम बालकविता संग्रहमा रहेका कविता बालभावनामा आधारित हुनुका साथै चारपाँच वर्षदेखि एघारबाह्र वर्षको उमेर समूहका बालबालिकाका लागि उपयुक्त कविता रहेको जनाउँदै उनले यी कविताले बालभावना र बालमस्तिष्कको विकासमा सहयोग गर्ने विचार व्यक्त गरे ।

यस्तै, अर्यालका कृतिमाथि समीक्षा गर्दै डा.कौशिला रिसालले ३७ वटा कविता संकलित भएको ‘काकालाई चिठी’ मा संग्रहित कविता समसामयिक परिस्थिति र परिवेशको चित्र कोरिनुका साथै सर्वहारावर्गको आवरण बोलेको विचार व्यक्त गरिन् । उनले संग्रहमा रहेका कविताले अन्यायका विरुद्धमा आवाज उठाएको, वर्गीय विभेदले सिर्जना गरेका सामाजिक विकृति र विसंगतिको पर्दाफास गरिएको, प्रगतिवादी स्वर, आशावादिता, व्यंग्यात्मकता र विद्रोहात्मक शैली अपनाइएको बताइन् । उनले भनिन्, ‘अर्यालका कवितामा राष्ट्रियभाव र राष्ट्रप्रेमको स्वर बुलन्द भएको, भ्रष्टाचारी, घुसखोरी प्रवृत्तिमाथि व्यंग्यसमेत गरिएको छ । आकारगत हिसाबले ठिक्क छोटा कविता छन् ।’ डा. रिसालले कवितामा केही छुटफुट वर्णविन्यासगत कसरमसरबाहेक अन्य कुरामा कसरमसर नरहेको बताइन् ।

परिचर्चा कार्यक्रममा कृतिकार शेखर अर्यालले समीक्षकका सल्लाह सुझाबमोजिम अगाडि बढ्ने विचार व्यक्त गर्दै कार्यक्रममा उपस्थित भई हौसला, प्रेरणा र उत्साह प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरे । कार्यक्रमको अध्यक्षता गरेका अखिल नेपाल लेखक संघका अध्यक्ष धनप्रसाद सुवेदीले बातलाबामा प्रथम पटक परिचर्चा कार्यक्रम राखी कवि अर्यालका दुई कृतिको परिचर्चा गरिएको बताए । उनले यस शृंखलाबाट नयाँ कार्यक्रमको सुरुवात् भएको बताउँदै यस्तो कार्यक्रम पाण्डुलिपिमा गर्नसके अझ सार्थक रहने धारणा राखे ।

कृति परिचर्चा कार्यक्रममा प्रा.डा राजन पोखरेल, कवि भीमनाथ रेग्मी, कवि टीकाराम उदासी, समालोचक पारस ढकाल, कवि प्रथा, कवि अगिव बनेपाली, जीत अधिकारी, प्रकाश तिवारी, डा.यादेवी सुवेदी, भागवत् भट्टराई, वसन्त अर्याल, ईशान घिमिरे, रेशम अर्याल, निशान घिमिरे, रेसुङ्गा अर्याल, निशान्त अर्याल लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो । कार्यक्रममा लेखक राधा कार्की दुलालले समाज सापेक्षित सिर्जना गरेर कवि अर्यालले नेपाली वाङ्मयमा विशिष्ट योगदान दिएको बताइन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *