काठमाडौं । नेपालमा यो वर्ष डेंगुका कारण ५५ को मृत्यु र ५० हजार २ सय ६३ जना डेंगुका बिरामी पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा डेंगुबाट संक्रमित संख्या सन् २०१९ पछिको धेरै हो ।
पछिल्लो एक सातादेखि भने नेपालमा डेंगु संक्रमित संख्यामा कमी आएको छ । चिसो मौसम सुरु भएसँगै उपत्यकालगायत देशभर डेंगु संक्रमण दर घटेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार एक सातामा कुल ६ सय २४ डंगुका विरामी देखिएका छन् । हाल, अस्पताल भर्ना हुने संख्यामा समेत कमी आएको छ । महाशाखाका निर्देशक डा. चुमनलाल दास डेंगु संक्रमणमा एक सातादेखि कमी आएको बताउँछन् ।
डा. दासका अनुसार अबको साता दिनमै डेंगु संक्रमित संख्यामा अझै कमी आउने छ । चिसो बढेसँगै र पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टे हराउँदै जान थालेको छ ।
संक्रमण दर उच्च भएको बेला नेपालमा डेंगु–१, डेंगु–२, डेंगु–३ र डेंगु–४ चार प्रकारका देखिएको महाशाखाका निर्देशक डा. दास बताउँछन् । नेपालमा पहिलोपटक डेंगु संक्रमण सन् २००४ मा चितवनमा फेला परेको थियो । यसपछि बर्सेनि डेंगु संक्रमण देखिँदै आएको छ ।