लोसपा र जसपालाई उछिन्दै जनमत, सीके राउत अगाडि

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । दुई मधेसवादी दलप्रति मतदाताले मतमार्फत असन्तुष्टि देखाएका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)प्रति मतदाताले असन्तुष्टि पोखेका छन् । यी दुई मधेसमा कमजोर देखिँदै गर्दा मतदाताले डा. चन्द्रकान्त राउत (सिके) नेतृत्वको जनमत पार्टीलाई अघि सारेका छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना जारी नै छ ।

हिजो मंगलबार सार्वजनिक मत परिणामअनुसार जनमत पार्टीले मधेस प्रदेशको दुई सिटमा विजयी भएको छ । सप्तरी क्षेत्र २ प्रदेशसभातर्फको दुबै सिटमा जनमतका उम्मेदवार विजयी भएका छन् । सप्तरी–२ प्रदेशसभा क्षेत्र १ मा जनमत पार्टीका सतिश कुमार सिंह १६ हजार ७ सय ३४ मतसाथ विजयी भएका छन् । उनले जसपाका उम्मेदवार शैलेन्द्रप्रसाद साहलाई पराजित गरेका हुन् ।

मधेस प्रदेश अर्थमन्त्रीसमेत रहेका साहले कुल ८ हजार २ सय ९२ र तेस्रोमा लोसपाका सरोज कुमार मण्डलले ६ हजार १ सय ३२ मत पाएका छन् । त्यस्तै, प्रदेशसभातर्फ क्षेत्र २ मा पनि जनमतकै महेशप्रसाद यादव विजयी भए । उनले १३ हजार ३ सय २५ मतसाथ विजय हासिल गरेका हुन् भने माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत पाए ।

जसपाका उम्मेदवार लक्ष्मण यादव भने ५ हजार ६ सय २३ मतसहित तेस्रो भएका छन् । सप्तरी २ प्रतिनिधिसभातर्फको मतगणनामा पनि जनमतकै डा. सीके राउतले फराकिलो अग्रता बनाएका छन् । जसपा अध्यक्षसमेत रहेका उपेन्द्रभन्दा झण्डै दोब्बर मतसहित राउत अगाडि छन् । २० हजार ७ सय ८५ मतसहित राउत अगाडी र यादव १० हजार ७ सय ८ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहेका लोसपाका जयप्रकाश ठाकुर ४ हजार ३ सय २६ मतसहित तेस्रो स्थानमा छन् । मधेस प्रदेशमा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ सिट रहेको छ । २०७४ को निर्वाचनमा संघ र प्रदेश दुवैमा बहुमत ल्याएका ठाकुर र यादव नेतृत्वका दल कमजोर देखिएका छन् । २०७४ को निर्वाचनमा दुबै दल गठबन्धन गरी निर्वाचनमा सहभागि भएका थिए । निर्वाचनको केही समयपश्चात् एकीकरण भए पनि फेरी विभाजन भएको थियो ।

अहिले जसपा एमालेसँग चुनावी गठबन्धन गरेको छ भने लोसपाले सत्तारूढ पाँच दलीय गठबन्धनस“ग चुनावी तालमेल गरेको छ । उनीहरूको मत विभाजन हुनु, मधेसका जनताका माग सम्बोधन गराउन नसक्नु, सधैं ‘बार्गेनिङ’ गर्दै सत्तामै रमाउनु, पार्टी विभाजन गर्नुलगायत कारण उनीहरूको मत घटेको विश्लेषण भइरहेको छ ।

लोसपा र जसपाका पार्टी अध्यक्षसहित शीर्षनेता प्रारम्भिक मतगणनामा फराकिलो मतले पछि देखिएका छन् । कतै जनमत त कतै एमाले, कांग्रेस त कतै माओवादी भने कतै स्वतन्त्र उम्मेदवार अगाडि छन् । महोतरी ३ मा लोसपा अध्यक्ष १ हजार ९ सय ३२ मत ल्याउँदै गर्दा स्वतन्त्र उम्मेदवार राम आधार कापर ३ हजार ३ सय ७६ मतसहित पहिलो स्थानमा छन् । जसपा उम्मेदवार हरिनारायण यादव १ हजार ७ सय ११ मतसहित तेस्रो स्थानमा छन् ।

यस क्षेत्रमा जनमतका उम्मेदवार मृगेन्द्र यादव १ सय ७२ र लोसपाबाट विभाजन भई गठन भएको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष उम्मेदवार बृषेश चन्द्र लालले ९१ ल्याएका छन् । प्रारम्भिक मतपरिणामअनुसार जसपा अध्यक्ष यादव, लोसपा अध्यक्ष ठाकुरसहित दलका शीर्ष वरिष्ठ नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, अनिल झा, राजकिशोर यादव पछि देखिएका छन् ।

शरत्सिंह भण्डारी भने अगाडि छन् । मधेस प्रदेशको ३२ मध्ये ७-७ सिटमा एमाले र कांग्रेस तथा जसपा ५ र स्वतन्त्रतर्फका उम्मेदवार ६ सिटमा अगाडि छन् । माओवादी केन्द्र २ सिटमा र एकीकृत समाजवादी ३, लोसपा १ र जनमतका उम्मेदवार १ सिटमा अग्रस्थानमा छन् । राजधानी दैनिकबाट

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *