संस्थाको गरिमामा आँच पुर्‍याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई छैन : प्रधानसेनापति

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले अस्वाभाविक व्यक्तिगत महत्वाकाङ्क्षा तथा स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पुर्‍याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

महाशिवरात्रि तथा सेना स्थापनाको दुई सय ६० औँ वार्षिकोत्सवका अवसरमा आज सकल दर्जालाई सम्बोधन गर्दै उनले नेपाली सेनालाई प्रदान गरिने अन्तर्राष्ट्रिय एवं राष्ट्रिय जिम्मेवारी पूरा गर्न सकल दर्जाले देखाएको तत्परता, पहल र उपलब्धिले नै नेपाली सेनाको गौरवमय इतिहास र रचनात्मक वर्तमानलाई बचाइराख्न तथा उज्ज्वल भविष्यलाई निर्देशित गरेको बताए ।

 

प्रधानसेनापति शर्माले आइपर्नसक्ने जस्तोसुकै परिस्थितिको सफलतापूर्वक सामना गर्न सकल दर्जाले पेसागत ज्ञान, सीप र बन्दोबस्ती क्षमतालाई अझ विशिष्टिकृत र दुरुस्त बनाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले सरकार र जनताको भरोसालाई थप मजबुत बनाउन विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि उच्च पेसागत क्षमता र हौसलाका साथ हरहमेसा तयारी रहनुपर्ने हुँदा उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै कार्य गर्न निर्देशन दिए ।​

विसं १८१९ मा नेपाली सेनामा पाँचवटा कम्पनी स्थायी रूपमा खडा भएको वर्षलाई आधुनिक नेपाली सेना स्थापनाको सुरुआतीका रूपमा लिँदै यसपटक दुई सय ६०औँ सेना दिवस मनाइँदै छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *