नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्। बुधबार संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले देउवाको जिम्मेवारी गौरवमय बन्ने अपेक्षा गरेको बताए।
‘संसदीय दलको नेतामा पटक-पटक चयन हुनुभएका सभापति यसपटक पनि निर्वाचित हुनुभएको छ। उहाँलाई शुभकामना छ। उहाँको जिम्मेवारी अब उन्नत र गौरवमय बनोस्,’ उनले भने। निर्वाचन परिणामलाई स्वीकार गर्दै सांसद र महामन्त्रीको भूमिका प्रभावकारी रूपमा अघि बढाउने थापाले बताए।
कांग्रेसका बहुमत सांसदहरू संसदीय दललाई नयाँ रूपले सञ्चालन गर्ने आफ्नो प्रस्तावको पक्षमा नरहेको देखिएको उनले बताए। संसदीय दलको निर्वाचनमा सभापति देउवाले ६४ र थापाले २५ मत प्राप्त गरेका छन्। आफूले पाएको मत अपेक्षाभन्दा कम भएको उनको भनाइ छ।
पराजित भएर पनि संसदीय दलमा उठेर आफूले मतदाताहरूसँग गरेको वाचा पूरा गरेको उनको भनाइ छ।
Facebook Comments Box