ओलीको संसद विघटनको बचाउप्रति देउवाको आपत्ति

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रतिनिधि सभाको विघटन गर्नसक्ने अभिव्यक्तिको दिएकोप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने घोषणा गर्दै पूर्ण कार्यकाल सरकार चलाउन सबै मिलेर काम गर्न दिनुपर्ने बताए।

नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा भएका संसद्का दुई विघटनको बचाउ गरेका थिए। उनको बचाउका आधारमा देउवाले यसपटकको संसद्को आयु पनि छोटो हुनसक्ने संकेत ओलीले गरेको बुझेको बताएका थिए।

उनले देशमा विद्यमान चुनौतीहरुलाई सरकारले कसरी हेर्छ, विद्यमान समस्याहरु समाधान हुन्छ? संविधानको रक्षा तथा कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको दिगो शान्ति र सुशासन विकास र समृद्धिको सवालमा सरकारको कामकारबाही कस्तो रहन्छ भन्नेकुरालाई मध्यनजर गरेर आगामी दिनमा समर्थन गर्ने वा नगर्ने भन्ने कुरा निर्धारण गर्ने पनि बताए।

उनले संविधानको पालना र रक्षाका लागि वर्तमान प्रधानमन्त्री र कांग्रेस एक ठाउँमा उभिएको स्मरण गर्दै फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकहरु तिनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्षमा संविधान र रक्षाका लागि खरो रुपमा उभिने चुनौती आफूसमक्ष रहेको बताए।

उनले भने, ‘प्रतिनिधि सभाको हिजोको बैठकमा नेकपा एमालेका अध्यक्षको सम्बोधनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण रहेको छ। उहाँले संविधानको संसदीय व्यवस्थाको विपरीत फेरि पनि संसद विघटन गर्न सकिने कुरा उठाउनुभएको छ। संविधानको पालना र रक्षाका लागि वर्तमान संविधानसहित वर्तमान प्रधानमन्त्री र हामी एक ठाउँमा उभिएका थियौँ। आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकहरु तिनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्ष्यमा संविधान र रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रोसामु छ।’

सभापति देउवाले सरकारको गठन गर्नु वा सरकार परिवर्तन गर्नु संसदको एक महत्वपूर्ण काम भएको बताए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *