प्रचण्ड पाँच वर्षकै प्रधानमन्त्री हो, हामी निशर्त सघाउँछौं : शशांक कोइराला

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको निशर्त सहयोग रहने बताएका छन् । उनले आफूहरुले राजनीतिक स्थायित्वको लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरुले वर्तमान सरकारलाई निशर्त सहयोग गर्ने सोच बनाएको बताए ।

उनले भने,‘हामी यो सरकारलाई निश्वार्थ सहयोग गर्छौं । हामी सरकार बाहिर बसेर वा सरकारमै गएर भएपनि सहयोग गर्न तयार छौं । प्रधानमन्त्री प्रचण्ड ढुक्क हुनुहुन्छ ।’ उनले सरकारमा जाँदा आफूहरुले मन्त्रालयको बार्गेनिङ नगर्ने पनि स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीले जुन मन्त्रालय दिएपनि बसेर काम गर्न तयार छौं । उहाँ अब पाँच वर्षको प्रधानमन्त्री हो ।’

सत्ता गठबन्धनमा खटपट सुरु भएको बेला कांग्रेस शीर्ष नेताबाट यस्तो कुरा आएको हो । यसले पनि के देखाउँछ भने अब प्रधानमन्त्री दाहाल एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गर्ने मनशायमा पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने उनको अडान यही उद्देश्यमा निहित रहेको कांग्रेस नेताहरुको पनि बुझाई छ ।

आजमात्रै रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्री नियुक्त नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । तर, दाहालले भने अहिले गृहमन्त्री नियुक्त गर्न नसकिने जवाफ दिएका थिए । दाहाल भने अहिले पार्टी पदाधिकारीको बैठकमा व्यस्त छन् ।

आजकै पदाधिकारी बैठकमार्फत उनले पार्टीबाट कसलाई गृहमन्त्री बनाउने भन्नेबारे निर्णय लिने तहमा पुगेको बुझिएको छ । दाहालले वर्षमान पुनलाई गृहमन्त्री बनाउने तयारी गरेका थिए । तर, उनको स्वास्थ्यले साथ नदिएको कारण उनी शक्तिबहादुर बस्नेतलाई अघि सार्ने योजनामा छन् । राष्ट्रपतिको पनि निर्वाचनलाई मध्येनजर गरेर दाहाल दुरगामी कदम चाल्नेगरि अघि बढेका छन् ।

आज/भोलि नै सत्ता गठबन्धन भत्किन सक्ने चर्चा भैरहेको छ । दाहाल राष्ट्रपतिमा पनि साझा व्यक्तिको खोजीमा छन् । राष्ट्रपतिको निर्वाचनमा आफ्नो दल निर्णायक शक्ति भएकोले उनी आफूअनुकुल व्यक्तिको खोजीमा छन् । उनी कांग्रेस नेतृत्वको सहमतिमा राष्ट्रपतिमा बाबुराम भट्टराईलाई अघि सार्ने तयारीमा छन् । यसमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ग्रिन–सिग्नल दिएका छन् । उता, कांग्रेसभित्र भने राष्ट्रपतिमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *