दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार आएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा मर्नेको सङ्ख्या १७ हजार नाघेको बिहीबार आधिकारिक पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आश्रय, विद्युत्, पानी र इन्धनका अभावका कारण भूकम्पमा जीवित रहेकामध्ये पनि धेरैको मृत्यु हुन सक्ने चिन्ता व्यक्त गरेको छ ।
डब्ल्यूएचओले भूकम्पको कारण सुरुमा देखिएको मृतकको सङ्ख्याभन्दा बढी मर्न सक्ने दोस्रो विपत्तिको खतरा रहेको जनाएको बीबीसीले लेखेको छ ।
त्यसैगरी राहत सामग्री बोकेका ६ वटा संयुक्त राष्ट्र संघका ट्रक टर्कीको सिमाना पार गरेर सिरिया प्रवेश गरेका छन् । सिरियाली जनताले पाएको यो पहिलो अन्तर्राष्ट्रिय राहत सहयोग हो ।
दुवै मुलकमा उद्धारकर्मीहरुले आफ्ना कार्य निकै मिहेनतका साथ जारी राखेका छन् । तर, अझै भग्नावशेषमा फसिरहेका अधिकांश जीवित रहने आशा क्षिण हुँदै गइरहेको छ । यसैगरी बेलायती च्यारिटीहरुले भूकम्प पीडितहरुका लागि अर्थ संकलन गर्न अपिल गरेका छन् ।
Facebook Comments Box