काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबारबाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गर्दे ऐतिहासिक जित निकालेको छ।
नेपालले एकदिवसीय क्रिकेट इतिहासकै सर्वाधिक रनको लक्ष्य चेज गर्दै कीर्तिमानी जित निकालेको हो। जितसँगै नेपालले लिग अंङ्कतालिकामा २ अङ्क थप्दै २५ खेलबाट २० अङ्क बनाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा नेपालसामु २ सय ८६ रनको उच्च लक्ष्य प्रस्तुत गरेको थियो। जुन लक्ष्य नेपालले १४ बल अगाडि नै ८ विकेट गुमाएर पूरा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो रन चेजको कीर्तिमान बनायो।
नेपालको ऐतिहासिक जितमा कुशल भुर्तेलले शानदार इनिङ खेले। उनले करिअरको पहिलो शतकीय इनिङ खेल्दा ११३ बलमा ११५ रन बनाए। उनले आफ्नो इनिङमा १० चौका र ४ छक्का प्रहार गरेका थिए।
त्यस्तै, नेपालको जितमा आठौं नम्बरमा आएका करण केसीले विष्फोटक ब्याटिङ गरेका थिए। उनले १२ बलमा २० रनको विष्फोटक इनिङ खेलेका थिए। उनले १ चौका र २ छक्का प्रहार गरे। नेपालका लागि विजयी रन भने सोमपाल कामीले प्रहार गरे आफ्नो पहिलो बलमा नै चौका प्रहार गर्दै सोमपालले नेपालको जित निश्चित गरेका थिए।
नेपालका लागि थप स्कोरका रुपमा रोहित पौडेलले ७२ रनको अर्धशतकीय इनिङ खेले। उनले र रोहितले तेस्रो विकेटका लागि १३३ रनको साझेदारी गरेका थिए। जुन नेपालले एकदिवसीय क्रिकेटमा गरेको सर्वाधिक ठूलो साझैदारीसमेत हो। त्यस्ते सन्दीप जोराले २४ बलमा २८ रन बनाउँदा ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भएका थिए।
त्यसअघि टियू मैदान कीर्तिपुरमा नामिबियाले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनाएको थियो। नामिबियाका लागि माइकल भान लिंगेनले आफ्नो एकदिवसीय करिअरकै उच्च रन बनाउँदै शतकीय इनिङ खेलेका थिए। उनले घरेलु टोलीविरुद्ध १ सय ३३ रन बनाए। जुन जारी विश्वकप लिग २ मा कुनै पनि ब्याटरले प्रहार गरेको सर्वाधिक दोस्रो धेरै रन हो।
विश्वकप लिग–२ मा सर्वाधिक रनको कीर्तिमान भने नामिबियाकै जिन पिएरेर कोटेजका नाममा रहेको छ। उनले युएसएविरुद्ध १३६ रन प्रहार गरेका थिए।
नामिबियाका लागि थप स्कोरका रुपमा कप्तान गेर्हाड एरासमुसले ५६ रनको अर्धशतकीय इनिङ खेल्दा जने ग्रिनले ३४ रन बनाए। नेपालका लागि करण केसीले ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ विकेट लिएका थिए।