प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरूले भिभिआइपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराएका छन्। आज बसेको बैठकको शून्य समयमा सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको संघीय संसद्को संयुक्त बैठकलाई प्रतिनिधिसभाको निर्वाचनपछि पहिलोपटक सम्बोधन गर्न आउने र जाने क्रममा भएको सवारी अवरोधपछि चौतर्फी टिप्पणी भएको बताएका छन्।
सांसद पन्तले राष्ट्रपतिको सवारीको पटक–पटक विरोध भइरहेको भन्दै सवारीलाई सरलीकृत गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘म आफैँ पनि एक घन्टा सवारीजाममा परेँ। जनताले आक्रोश पोख्न थालेपछि म सांसद हो भन्ने परिचय दिनसमेत असहज महसुस भयो । यो समस्या एकपटकको होइन,’ उनले भने, ‘यो काम सुरक्षा संयन्त्रको हो । सवारीसँग सम्बन्धित मापदण्ड लोकतन्त्रअनुकूल सर्वसाधरणलाई मर्का नपर्ने गरी सरलीकृत गरिनुपर्छ।’
सांसद मुक्ताकुमारी यादवले राष्ट्रपतिकाे सवारीलाई व्यवस्थापन गर्नपर्नेमा जोड दिइन्। सवारी व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै उनले आपत्ति जनाइन्। सांसद रामहरि खतिवडाले भिभिआइपीको सवारीले सर्वसाधारणलाई मर्कामा पार्न नहुने तर्क राखे।