बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रचण्ड

मुख्य समाचार राजनीति
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ–प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन्।

सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र)गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। प्रदेश बैठकलाई सम्बोधन गर्दै उनले भने–‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दूषित हावा देखिएको छ,अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ।१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए, फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ। राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो।’

‘राष्ट्रिय सहमतिका लागि विभिन्न बिकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन,’ उनले भने, ‘राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ। हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ। तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ।’

प्रचण्डले २ महिना जनतामा गएर उनीहरूका रिपोर्ट ल्याउन नेताहरूलाई निर्देशन दिए। उनले भने, ‘दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौं। त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौं, उनीहरूका सुझाव लिउँ। सहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्ग साथीहरू भेटौं। उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तरण गरौं।’

नयाँ सरकारले जनताको पक्षमा महत्त्वपूर्ण कामहरू गरेको उनको दाबी छ। अर्थतन्त्रमा सुधार ल्याउन गम्भीर पहल गरेको र सुधार पनि आएको उनको भनाइ छ। प्रचण्डले भने,‘सरकारी सेवाप्रवाह चुस्त बनाउने कार्ययोजना बनाइएको छ। हाम्रो प्रयासको नतिजा छिट्टै देखिनेछ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *