काठमाडौँ- राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसद्मा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभारसहित निर्वाचित भएका हुन् । उनी सँगै नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा रहेका थिए ।
प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मत दिएका थिए ।
चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलकाे पक्षमा मतदान गरेका थिए ।
प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सदस्य छन् । यसमध्ये बिरामीद्वय कांग्रेसका डा. चन्द्र भण्डारी र माओवादीका वर्षमान पुन र मुद्दा विचाराधीन अवस्थामा रहेकाले एमालेका लक्ष्मी महतो कोइरीको अनुपस्थित रहे भने सांसद सहनाज रहमानको मृत्यु भइसकेको छ।
यसैगरी राप्रपा १४ जना सांसदहरू राजेन्द्र लिङ्देन, दीपक बोहरा, ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), दीपक सिंह, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशाले राष्ट्रपति निर्वाचनलाई बहिस्कार गरे । उनीहरूले पार्टीको निर्णयअनुसार बहिस्कार गरे ।
राष्ट्रपति चयन प्रक्रियामा नेपाल मजदुर किसान पार्टीका एकल सांसद प्रेम सुवाल तटस्थ रहे । प्रदेशसभातर्फ राप्रपाका २८, नेमकिपाका ३ र जसपाका १ जना सांसद राष्ट्रपति निर्वाचनमा अनुपस्थित रहे ।