काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धलाई अपराधीकरण गरेर उपलब्धिहरुलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुद्दा लगाइएको बताएका छन्।
शुक्रबार चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले प्रधामन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको जिकिर गरे।
उनले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरु तयार रहेको चेतावनी दिए। उनले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगत रुपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्वीकार गर्ने प्रवृतिसँग सम्बन्धित रहेको उल्लेख गरे। महासचिव विप्लवले सो मुद्दालाई आफूहरुले अस्वीकार गर्ने बताए।
उनले भने, ‘यो मुद्दा भनेको गणतन्त्रलाई पनि सहन गर्न नसक्ने प्रवृत्तिको हमला हो। प्रचण्डजीहरुले उहाँको पार्टीमा के गर्नुहुन्छ उहाँहरुको कुरा हो। तर जनयुद्धलाई अपराधीकरण गर्ने र जनयुद्धका उपलब्धिहरुलाई विनाश गर्न खोज्ने प्रवृत्तिसँग यो मोर्चा पनि लड्छ। र त्यसको कुनै पनि जवाफ दिन हामी तयार छौँ। यो जनयुद्धमाथिको आक्रमण हो। परिवर्तनमाथिको आक्रमण हो।’
महासचिव विप्लवले प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिला मात्रै नभएर राज्य र जनताको मामिला भएको भन्दै आफूहरु त्यसको प्रतिरोधमा उत्रेको बताए। उनले माओवादी घटकहरु एक हुने सम्भावना रहेको र त्यसको निम्ति छलफल पनि भइरहेको बताए।