यूएईलाई हराउँदै नेपालले जोगायो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता

खेलकुद मुख्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- नेपाली क्रिकेट टिमले सन् २०२७ सम्मका लागि आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा युनाइटेड अरब इमरेट्स (युएई) लाई १ सय ७७ रनले पराजित गर्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता जोगाएको हो ।

यस जितसँगै नेपाल लिग-२ को शीर्ष ४ मा उक्लिएको छ । नेपालले ३४ खेलबाट ३६ अंक जोडेको छ । ३६ खेलबाट ३५ अंक जोडेको अमेरिका पाँचौ स्थानमा झरेको छ । नेपालले आगामी दुई खेल जिते शीर्ष ३ मा समेत पर्नेछ । आईसीसीले जनाए अनुसार लिग-२ का शीर्ष पाँच टिमको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिनेछ ।त्यसैगरी, शीर्ष ३ मा रहने टिमले आईसीसी विश्वकपको छनोटमा स्थान बनाउने छन् भने पुछारका ४ टिमले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्नेछ । लिग-२ को छैटौ र सातौ स्थानमा रहने टिमको एकदिवसीय मान्यता विश्वकप छनोटको प्लेअफले निर्धारण गर्नेछ ।

आइतबारको खेलमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा युएईले २२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७१ रन मात्र जोड्न सक्यो । युएईका लागि आयान अफजल खानले २९ रन बनाए । नेपालका ललित राजवंशीले ५ तथा सन्दीप लामिछानेले २, गुल्सन झा, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट २४८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा महत्वपूर्ण ७७ रन बनाए । उनले ९ चौका प्रहार गरे ।

आरिफ शेखले ४३ रन, भिम सार्कीले २९ रन, कुशल मल्लले ९ रन तथा कुशल भुर्तेल ८ रन बनाए । आशिफ शेख शून्य रनमै पभेलियन फर्किए । गुल्सन झाले ३७ रन तथा दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । सन्दीप लामिछानेले २ रन जोडे । युएईका लागि जावर फरिद, जाहुर खान, रोहन मुस्तफा र आयान अफजल खानले समान २-२ तथा आर्यन लाकरा र जुनैद सिद्दिकीले एक-एक विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *