नयाँ राष्ट्रपतिलाई शुभकामना

सम्पादकीय
खवर पाटी (खोज खबरको अभियान)

नेपालको तेस्रो राष्ट्रपतिको हैसियतमा रामचन्द्र पौडेलले सपथ ग्रहण गरेका छन् । पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता हुन् । नवनिर्वाचित राष्ट्रपति पौडेललाई संसद्का ९ वटा दलले साझा उमेदवारका रूपमा समर्थन गरेका थिए । नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादव पनि नेपाली कांग्रेसकै नेता थिए । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उपाध्यक्ष थिइन् । पौडेल उनका पूर्ववर्तीहरूभन्दा उमेर र अनुभवमा मात्र होइन राजनीतिक सङ्घर्षका आधारमा पनि निकै वरिष्ठ हुन् । यसले एकातिर राष्ट्रपति पदको ओज बढाएको छ भने अर्कातिर पौडेलका लागि चुनौती पनि थपेको छ ।

सभामुख रहिसकेका नवनिर्वाचित राष्ट्रपति पौडेल नेपालमा संसदीय लोकतन्त्रको स्थापनाका लागि दशकौं सङ्घर्ष गरेका छन् । त्यसैले पनि उनले संवैधानिक राष्ट्रपतिको सीमा र दायित्व दुवै बुझेका छन् भन्ने विश्वास गरिएको छ । दोस्रो राष्ट्रपतिको रुपमा विद्यादेवी भण्डारीले निभाएको कार्यकार विवादित बन्न गयो । एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीका पक्षमा उनले देखाएको झुकावले एक पक्षीय पूर्वाग्रही बनेको आरोपले पदकै गरिमा गिराएको थियो । यसैगरी राष्ट्रपतिहरूले राजसी विलास अपनाएको पनि जनसाधारणलाई मन परेको थिएन । विशेषगरी राष्ट्रपतिको आवागमनमा घन्टौं सडक बन्द गरेर दिइने सास्तीले पनि जनता धेरै चिडिएका थिए ।

विवाद र पक्षपोषणको आरोप लागेको राष्ट्रपति संस्थाको गरिमा र सम्मान डगमगाएको अवस्थामा रामचन्द्र पौडेल उक्त पदमा पुग्नुले राष्ट्रपतिको गिरेको शाख र सम्मान पुन फर्कने विश्वास पलाएको छ । नेपालका वरिष्ठ र अपेक्षाकृत स्वच्छ छविका राजनीतिक नेतामध्येका रामचन्द्र पौडेल राष्ट्रपति हुँदा पनि पदको गरिमा बढाउन नसके गणतन्त्रप्रति नै वितृष्णा बढ्न सक्छ । सम्भवतः उनका लागि सबैभन्दा ठूलो चुनौती यही हो । राष्ट्रपति पदको गरिमा बढाउन र नेपालको राजनीतिमा मानक कायम गर्न नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सफलता प्राप्त होस् यही शुभकामना

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *