काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन्। बुधबार नेकपा माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्रमा पूर्णरूपमा सरकार बिस्तार हुने बताए। उनले अबको बजेटमा गुणात्मक रूपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धतासमेत जनाए।
प्रधानमन्त्री दाहालले भने, ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण रूपमा छ। अहिले सरकारले करिबकरिब पूर्णता पाएको छ। आज भोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ। हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ। कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ।’
उनले जनताले राहत पाउनेगरी बजेटको निर्माण नगरे सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने पनि बताए। ‘जनताले केही राहत पाउनेगरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ। त्यो महसुस गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ। यसमा म गम्भीर छु’, अध्यक्ष दाहालले भने।