काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिआरसीसम्बन्धी विधेयक ‘फास्टट्याक’बाट लैजान असहमती जनाएका छन्। मंगलबार बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले विधेयक धेरै ढिलो भइसकेको भन्दै अब ढिलो नगरी अगाडि बढाउन प्रस्ताव राखेका थिए।
यसको जवाफमा ओलीले यसलाई छिटो टुङ्ग्याउने कुरामा आफूहरू सहमत नै रहेको बताएका थिए। साथै, उनले सबैको चित्त बुझ्ने र न्यायपूर्ण तरिकाले यसलाई टुङ्ग्याउन एमाले तयार नै रहेको समेत बताएका थिए।
प्रधानमन्त्री दाहालको आशय उक्त विधेयक ढिलो नगरी ‘फास्टट्याक’मा लैजाने थियो।, तर यस कुरामा भने एमालेले सहमती नजनाएको विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिएको प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।
यसका साथै, आजको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक पनि अगाडि बढाउने कुरा पनि भएको थियो। यता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस विषयमा कांग्रेसभित्र पनि छलफल गर्नुपर्ने बताएपछि१ गते बस्नेगरी आजको बैठक सकिएको गिरीले जानकारी दिए।