देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने अवस्था छः प्रकाण्ड

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले देशको अस्तित्व संकटमा पर्न लागेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वकर्माले देश असाध्यै संकटपूर्ण अवस्थामा रहेको बताए।

उनले देशको अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताए। उनले एमसीसी प्रोजेक्ट देशको बिरुद्धमा केन्द्रित रहेको र भारतीयले सिमाना मिचिरहेको भन्दै देशको स्वाधिनतामाथि नै प्रश्न उठेको बताए। उनले विश्वका शक्ति राष्ट्रहरूको संघर्ष दुश्मनीपूर्ण अवस्थामा पुगेको उल्लेख गरे। प्रवक्ता विश्वकर्माले अमेरिका र चीनबीचको अन्तरविरोधलाई नेपालले ठीक ढंगले विश्लेषण गर्न नसके नेपाल युक्रेनको अवस्थामा पुग्ने बताए

उनले भने, ‘देश असाध्यै संकटपूर्ण घडीमा छ। यतिधेरै संकट देशको जीवनमा कहिल्यै पनि आएको थिएन। पञ्चायती व्यवस्थामा पनि यत्ति संकट आएको थिएन। त्यसका आफ्नै प्रकृतिका संकट थिए। ०४६ देखि ०६३ सम्म आउँदा पनि यति संकट आएको थिएन। यद्यपि, संसदीय प्रतिक्रियावादी व्यवस्था थियो त्यो। एमसीसीजस्ता डरलाग्दा अमेरिकी प्रोजेक्ट पनि हाम्राविरुद्ध केन्द्रित छन्। सिमाना मिच्ने भारतीय साम्राज्यवादीहरुको एकपछि अर्को हर्कत बढी नै राखेको छ। देशको स्वाधीनता के हुने ? हाम्रो देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने छ। अहिलेको विश्वको ट्रेन्ड हेर्नुभयो भने पावर र सुपर पावरबीचको संघर्ष, अन्र्तविरोध दुश्मनीपूर्ण ठाउँमा पुगेको छ। त्यो भनेको निल्ने र निलाइपाउने प्रक्रिया अगाडी बढ्छ। अमेरिका र चीन बीचको अन्तविरोध जुन ठाउँमा जान खोजेको छ, नेपालका शासक वर्गले ठीक ढंगले त्यसको विश्लेषण गर्न सकेनन् भने र ठीक ढंगले डिल गर्न सकेनन् भने नेपाल अर्को युक्रेन हुँदैन भन्न सकिने स्थिति छैन।’

प्रवक्ता विश्वकर्माले अहिलेको राजनीतिमा विचार, नीति, सिद्धान्त र नैतिकताको कुनै प्रश्न नरहेको बताउनुभयो। राजनीति केवल सत्ता र कुर्सिको निम्ति गरिने षड्यन्त्रमुलक खेलको रुपमा स्थापित हुन पुगेको उनले बताए। उनले सत्ता र कुर्सीको स्वार्थको निम्ति विदेशी शक्तिसँग सौदाबाजी भइरहेको उनले आरोप लगाए।

उनले भने, ‘राजनीति भनेको सत्ता र कुर्सीको निम्ति फोहोरीभन्दा फोहोरी, षड्यन्त्रमूलक खेल गर्ने हो भन्ने स्थापित छ। कुनै विचारको प्रश्न मुख्य छैन। राजनीतिको प्रश्न मुख्य छैन। सिद्धान्तको प्रश्न मुख्य छैन। नीति, नैतिकता, संस्कारको प्रश्न मुख्य छैन। जसरी पनि कुर्सी, जसरी पनि सत्ता भन्ने दलाल पुँजीवादको चरित्र जो छ यसले आफ्नो सत्ता स्वार्थ र कुर्सी स्वार्थको निम्ति विदेशी शक्तिसँग ठुल्ठूला सौदाबाजी देश र जनताविरुद्ध गर्ने र देशभित्र एकपछि अर्को जनताविरुद्ध अपराध गर्ने र अस्थिरताको खेल गर्ने डरलाग्दो स्थिति छ।’
पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा वैशाख ९ गते आफ्नो पार्टीले काठमाडौंको खुलामञ्चमा कार्यक्रम गर्ने बताए। कार्यक्रममा देशका कम्युनिष्ट तथा वामपन्थी १० वटा राजनीतिक पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने उनले जानकारी दिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *