काठमाडौं । नापी कार्यालयका चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख नापी अधिकृत दुर्गा दास महर्जन, नापी अधिकृत रवि शङ्कर पाण्डेय र सर्वेक्षक रामनारायण यादव, मालपोत कार्यालय चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यसैगरी, झापाको कमल गाउँपालिका –२ का योगेन्द्र आचार्य, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका –९ का सिताराम अधिकारी र काठमाडौं महानगरपालिका –९ का नवीन दाहालविरुद्ध पनि अख्तियारले विशेष अदालतमा आज (शुक्रबार) भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालले जग्गाको नक्सा आफूखुसी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानुन विपरीत कित्ताकाट गरेको भन्दै उनीहरू विरुद्ध मुद्दा दायर गरेको जानकारी दिनुभयो । अख्तियारका अनुसार नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत पाण्डेय र सर्वेक्षक यादवले मूलपानी १ (ख) कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजको रूपमा चिनिने नक्सामा अनधिकृत रूपमा कित्ताहरूको आकार प्रकार परिवर्तन गरी नक्सा सच्याएको आरोप छ ।
सो कार्यमा मालपोत चाबहिलका तत्कालीन मालपोत अधिकृत काफ्ले र नायव सुब्बा कुँवर तथा झापाको कमल गाउँपालिका–२ का आचार्य, काठमाडौं कागेश्वरी मनोहरा –९ का अधिकारी र काठमाडौं महानगरपालिका –९ का दाहालको पनि संलग्नता देखिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।