सुनुवार (कोइँच)समुदायको कला र संस्कृतिका लागि पोकलीमा साँस्कृतिक महोत्सव

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं ः सुनुवार (कोइँच)समुदायको साँस्कृतिक महोत्सव ओखलढुंगाको पोकलीमा सम्पन्न भएको छ । मंगलबार लिखु गाउँपालिका ९ पोकलीको वाच्पुमा दुईदिने महोत्सव भव्यताका साथ सम्पन्न भएको हो । सुनुवार समुदायको मौलिक कला तथा संस्कृतिको उजागर गर्ने उदेश्यले आयोजना भएको महोत्सवका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले नेपाल सरकार कला संस्कृति संरक्षणमा लागि परेको बताए । उनले यसका लागि विशेष योजना सहित काम अघि बढाएको समेत दाबी गरे । महोत्सवमा सुनुवार समुदायको कला संस्कृति चण्डीनाच, तामाङ सेलो, शेर्पा समुदायको स्याब्रु नाच, क्षत्री बाहुन लगायतका समुदायको बालन नाच र मगरहरुको मौलिक नाचका साथै झाँकीहरु प्रदर्शन भएको हिमचुली जनजागरण युवा क्लबका अध्यक्ष अर्जुन घिमिरेले बताए ।

सोही कार्यक्रममा विशेष अथिति कांग्रेस नेता तथा संघीय सांसद रामहरी खतिवडाले आफ्नो गृह जिल्लामा पर्यटन प्रवद्र्धन र समग्र जिल्लाको विकासका लागि आफु लागि परेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पहलमा केन्द्रिय विद्युत विस्तारको काम धमाधम भइरहेको र अबको वर्ष दिनभित्र जिल्लाको सबै गाउँटोलमा केन्द्रिय विद्युत बल्ने जानकारी दिए । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पनि सुनवार समुदायको कला संस्कृति र रितिरिवाज, भाषा लगायतलाई जोहो गर्न आफु लागि परेको बताए । उनले भने,‘सुनुवार समुदायका साथै अन्य जातजातिको कला संस्कृतिको पनि संरक्षणका लागि आफुले पहल गरिरहेको बताए । आयोजकमध्ये एक हिमचुली जनजागरण युवा क्लबका अध्यक्ष घिमिरेले कार्यक्रममा सुनुवार समुदाय मात्र नभई हरेक समुदायको उपस्थिति रहेको बताए ।

उनले भने,‘सुनुवार समुदायका तथा धार्मिक, पर्यटकीय ऐतिहासिक स्थलहरुको सरंक्षण संवद्र्धन गर्ने उद्वेश्यले महोत्सवको आयोजना गरिएको हो । यसले सुनुवार समुदायको संस्कृति प्रचारप्रसारमा टेवा पुग्नुका साथै पोकलीमा पर्यटन विकासमा टेवा पुग्नेमा हामी पोकलीबासी विश्वस्त छौँ ।’ महोत्सवको दोस्रो दिन अर्थात बुधबार राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने रहेको थियो । उक्त महोत्सवमा चर्चित गायिका बबिना किराती,बालकुमार श्रेष्ठ,अर्जुन घिमिरे लगायत सुनुवार समुदायका कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । उनीहरुको सांगितिक प्रस्तुतीले उपस्थित हजारौँ दर्शकलाई मनोरञ्जन प्रदान गरे ।
हिमचुली जनजागरण युवा क्लबका अध्यक्ष घिमिरेका अनुसार महोत्सवमा हजारौ दर्शक तथा अवलोकनकर्ता छिमेकी गाउँ तथा जिल्लाबाट आएका थिए । पोकली झरना सेवा समाज र स्थानीयको अगुवाइमा २०६५ सालदेखि मेला महोत्सव हुँदै आएको समेत उनले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *