पूर्वराजाको सक्रियता बढ्दै, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेसँगै नयाँ तरंग सिर्जना भएको छ । नेपालमा हिन्दूराष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको विषयमा बोल्दै आएका योगीसँगको भेटले नेपाली राजनीतिमा आशंका सिर्जना गरेको छ ।

पूर्वराजा शाह केही समयदेखि नेपालगन्जको सोल्टी होटलमा बस्दै आएका थिए । उनी करिब १ महिना नेपालगन्जमै बस्ने कार्यक्रम रहेको बताइन्छ । एक हप्ताअघि नै उनी लखनउ पुगेका थिए । नेपालगन्जबाट २(३ घन्टाभित्र नै लखनउ पुगिन्छ । पूर्वराजा शाह र मुख्यमन्त्री आदित्यनाथबीचको भेटको विषयमा शाहका संवाद सचिव फणिराज पाठकले विज्ञप्ति निकालेका छन् । छलफल समसामयिक विषयमा केन्द्रित रहेको उल्लेख छ । पछिल्लो समय शाहका भारत भ्रमण बाक्लै हुन थालेको छ । योगी आदित्यनाथले खुला रूपमा नेपालका विषयमा धारणा राखेका कारण पनि यी दुईबीचको भेटमा राजनीतिक गन्ध देखिन्छ ।

राजाको यो भ्रमणलाई निजी भन्न नमिल्ने बताउँछन् राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल । ‘प्रत्यक्ष शासन गरेको व्यक्तिको भ्रमण भेटघाट सार्वजनिक विषय बन्छ । त्यसैले निजी भ्रमण भनेर भन्न मिल्दैन,’ उनले भने । पूर्वराजा शाहले पछिल्लो समय आफ्ना सीमितता तोड्दै गएको विश्लेषण हुन थालेको छ ।

शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई भेटे

पछिल्लो समय त उनले राजनीतिक दलविरुद्ध समेत अभिव्यक्ति दिन थालेका छन् । त्यसैगरी ठूला दलका शीर्ष नेतासमेत पूर्वराजाको सक्रियताबाट झस्किने गरेका छन् ।

उनी केही समयअघि पूर्वमा लामै समय बसे । झापाको दमकस्थित आप्mनै निवासमा बसेर भेटघाट बाक्लो बनाएका थिए । राजसंस्थाले देशको अभिभावकत्व निर्वाह गर्नुपर्ने विचार शाहले राख्ने गरेको उनीसँग भेटघाट गर्नेकुरा बताउँछन् । गत फागुन १ मा त दुर्गा प्रसाईको आयोजनामा भएको कार्यक्रममा पूर्वराजा शाह सपरिवार पुगे । २० चैतमा सुनसरीमा उनलाई अभिनन्दन गरियो । झापा बसाइका क्रममा पनि उनी भारत गएका थिए । त्योबेलाको भारत भ्रमणको विषयमा भने कुनै कुरा सार्वजनिक भएन । राष्ट्रिय प्रजातन्त्र पार्टीले त शाहलाई राजनीतिकमा ठाउँ दिनुपर्ने बताएको छ ।

नेपालमा शाहवंशले २४० वर्ष शासन गरेको थियो । २०६३÷६३ को जनआन्दोलनबाट पुनस्र्थापना भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाहले गद्दीत्याग गरेका थिए । उनी शाहवंशका अन्तिम राजा हुन् । उसो त यसअघि पनि नेपालमा दुईपटक राजाले गद्दी त्याग गरेको घटना छ । रणबहादुर शाहले रानी कान्तवतीको जिद्दीका कारण १७ महिनामै छोरालाई राजगद्दी दिएर पशुपतिको धर्मशिला छोएर गद्दीत्यागको धरपत्र गरेको इतिहासकार ज्ञानमणिले ‘नेपालको महाभारत’मा उल्लेख गरेका छन् । राजेन्द्रविक्रम शाहले पनि राजा गद्दी त्याग गरेर कासी गएका थिए ।

गणतन्त्र घोषणापछि पत्रकार सम्मेलन गरेरै गद्दी त्यागेका ज्ञानेन्द्र शाह पछिल्लो सयम चटपटाउन थालेका छन् । उनी नेपालको अस्थिरतामा कतै व्यवस्था परिवर्तन गर्न पो सकिन्छ कि भनेर दौडधुप गरिरहेको हुन सक्ने विश्लेषण हुन थालेको छ । राजधानी दैनिकबाट

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *