ललिता निवास प्रकरण अन्तिम निर्णयमा पुगोस्

सम्पादकीय
खवर पाटी (खोज खबरको अभियान)

प्रधानमन्त्री निवास बालुवाटारमा रहेको ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको सार्वजनिक भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी पत्रकार सम्मेलन गरेरै यसबारे जानकारी दिएको हो । सीआईबीले मंगलबार सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सातजनालाई पक्राउ समेत गरेको थियो । जसमध्ये अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको थियो । पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधिर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् । ब्युरोका अनुसार जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जना रहेका छन् ।

२०४९ देखि २०६९ सालसम्मको अवधिमा ललिता निवासको १ सय ४३ रोपनी जग्गा किर्ते कागजका आधारमा विभिन्न व्यक्तिलाई बिक्री गरिएको थियो । यो रहस्य खुलेपछि अख्तियार अनुसन्धान आयोग र नेपाल प्रहरी दुवैले अनुसन्धान अगाडि बढाएका थिए । तर, २०७५ असारमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा जग्गा हिनामिनामाथि छानबिन गर्न गठन भएको समितिले जग्गा हिनामिनामा संलग्नहरूको नाम किटानी गरी बुझाएको प्रतिवेदन यो प्रकरणको मुख्य कडी थियो । यो प्रतिवेदनले जग्गा हिनामिना भएको ठहरसहित हडपेको जग्गा फिर्ता गर्न र संलग्नलाई कारबाही गर्न सिफारिस गरेको थियो । यही प्रतिवेदनले थप अनुसन्धान गर्न अख्तियार र सीआईबीलाई जिम्मा दिनुपर्ने राय प्रस्तुत गरेको थियो । सरकारले सोही प्रतिवेदन पछ्याउँदै अख्तियारलाई सरकारी सम्पत्ति हिनामिनामा र सीआईबीलाई सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

अख्तियारले १ वर्ष लगाएर गरेको अनुसन्धानले सय जना बढीलाई कैद र बिगो जरिवाना तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यो प्रकरणमा एमाले नेता विष्णु पौडेल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाल र मुख्य सचिव लीलामणि पौडेलको नाम पनि मुछिएको थियो । एक्कासी मंगलबार देखि आक्रामक देखिएको प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर ललिता निवास प्रकरणको जग्गा हिनामिना प्रकरणमा ठूलै समुहलाई पक्राउ गर्ने तयारी गरेको खुलाएको छ । विगत लामो समयदेखि थाति रहँदै आएको पुरानो फाइल यसपटक खुलाउने सरकारको जमर्कोलाई मान्नु पर्दछ । तर विगत जस्तै यस पटक पनि यो पक्ररण अनिर्णयमै नसकियो । सरकारले यो पक्ररणलाई टुंगोमा पुराएर दोषिलाई कारवाही र सत्य तथ्य सार्वजनिक गर्नु आवश्यक छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *