राष्ट्र जोगाउन सबैले अन्तिम प्रयास गर्नु जरुरी छ : कर्णबहादुर शाही

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
कर्णबहादुर शाही कार्य सम्पादन समिति सदस्य, राप्रपा

नक्कली भूटानी शरणार्थी र ललिता निवास प्रकरणलाई यहाँले कसरी लिनु भएको छ ?
अहिलेको तीन दशकको राजनीतिक यात्राले देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, सुशासनलाई चुनौती दिँदै भ्रष्टाचार वेतिथिले जरो गाडेको छ । देशको पछिल्लो भुटानी शरणार्थी प्रकरण एवं विगत लामो समयदेखि चर्चामा रहेको ललिता निवास प्रकरणले अहिलेको राज्यको नेतृत्वको संलग्नतालाई उजागर गरेको छ । मुलुकलाई विकास दिएर दिगो विकासलाई अगाडी बढाउने हो भने राप्रपाले अंगिकार गरेको मौलिक मुलुकको पहिचान सहित हाम्रो समृद्ध धर्म संस्कृति पहिचानलाई संस्थागत गर्नुपर्छ । त्यसैले लोक कल्याणकारी राज्यमा रुपान्तरण नगरी यस्तै किसिमको वैदेशिक हस्तक्षेपमा हाम्रो आन्तरिक राज्यव्यवस्था अघि बढेकाले धरापमा परेको छ । र भ्रष्टाचार र वेतिथिलाई यो हदसम्म संस्थागत गर्ने यि पार्टी, प्रवृत्ति र पात्रलाई विस्थापित नगरी सुशासन र भ्रष्टाचारमुक्त देशको परिकल्पना गर्न सकिन्न ।

राष्ट्रपतिद्वारा केही दिन अघि जारी भएको नागरिकता विधेयकबारे के भन्नु हुन्छ ?
नागरिकता विधेयकसँग सम्बन्धित नेपालमा रहेका नागरिकले विभिन्न कारणले विगत लामो समयदेखि नागरिक भइकन पनि नागरिकता पाएका थिएनन् । अनागरिक भइरहनु परेको थियो । उनीहरुलाई नागरिक बनाउनु पर्ने राज्यको दायित्व हो । तर जुन प्रक्रियाबाट विधेयक आयो र त्यति नै बेला नेपालका प्रधानमन्त्रीको भारत भ्रमण भयो । त्यसले धेरै आशंकाहरु उब्जाएको छ । पूर्व राष्ट्रपतिले रोकेर राखेको विधेयकलाई रातारात वर्तमान राष्ट्रपतिले प्रमाणिकरण गर्नु भयो, त्यसैले नागरिकता विधेयक स्वभाविक रुपमा आएन । नयाँ संसदमा छलफल भएन । त्यसैले पहिला यो विधेयकबारे सदनदेखि सडकसम्म छलफल र निर्णय गर्नुपथ्र्याे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे के भन्नुहुन्छ ?
मालिकलाई रिझाएर सत्तामा आफ्नो हालिमुहालि कायम गर्ने रणनीति अनुसार प्रधानमन्त्रीको भारतभ्रमण भयो भन्ने देखिन्छ । भ्रमणमा नयाँ केही छैन । विवादित विषय उठेन, बरु भ्रमण विवादमा आयो । सार्वभौमसत्ता सम्पन्न देशको अपमानबारे बोलिएन । भारतको नयाँ सांसद भवनमा नेपाली भुभागसमेत जोडिएको नयाँ नक्साबारे समेत प्रधानमन्त्री प्रचण्डले बोल्नु भएन । यस विषयमा दृढताका साथ प्रस्तुत हुनु भएन । समग्रमा विवादित भ्रमण भयो ।

देशभर फैलिएको महँगीबारे तपाईको दृष्टिकोण राख्नुस् न ?
देशको अर्थव्यवस्था, मौद्रिक नीति देशमा रहेका केही सिमित धनाढ्यहरुको कब्जामा भएसम्म महँगी अनियन्त्रित भइरहन्छ । साथै बजार र बैकिङ क्षेत्रको ज्याजती पनि कुनै पनि हालतमा नियन्त्रण तथा व्यवस्थित गर्न सकिदैन । त्यसैले सर्वसाधारणलाई टेवा पुग्ने गरी मुल्य नियन्त्रित पनि हुँदैन । बजारमा सरकारी अनुगमन फितलो छ । सरकारी निकाय, राजनीतिक नेतृत्वलगायत उक्त केही सिमित धनाढ्य वर्गहरुको पक्ष पोषण गर्ने गरी मौद्रिक नीति निर्माण गर्ने र फितलो अनुगमन र नियमनका कारणले बजार अनियन्त्रित भई बजार मुल्य बढ्न गएको हो ।

राप्रपा अब कसरी अघि बढ्छ ?
नविन राप्रपा, नवपरिकल्पना, नव परिचय, नवप्रस्तुतिसहित अगाडी बढ्ने भनेर केन्द्रीय समिति, कार्य सम्पादन समितिले अनुमोदन गरेको रणनीति तथा कार्यनीति अगाडी सारेको छ । तदनुरुप ‘घरदैलोमा राप्रपा’ भन्ने अभियान सहित केन्द्रीय अध्यक्ष सहित केन्द्रीय नेताहरु १६५ निर्वाचन क्षेत्रमा रहेका वडा तहसम्मका कार्यकर्ता र जनतावीच अन्तरक्रिया एवं संगठन निर्माण गर्ने कार्यको थालनी यहि श्रावण महिनादेखि गर्ने निर्णय भएको छ । यसमा विशेषतः राप्रपाको तीन दशकको यात्रामा जुन शैलिमा काम कारवाही अगाडी बढायो, यसले एक सिमित परिधि भन्दा माथि एक हस्तक्षेपकारी शक्तिका रुपमा स्थापित गर्न सकेन । अब अहिलेको जनताको जल्दोबल्दो समस्यालाई सम्बोधन गर्न र राष्ट्र, राष्ट्रियता एवं भौगोलिक अखण्डता अक्षुण राख्न नयाँ भास्य निर्माण गर्नुृ परेको छ । यसै सन्दर्भमा भ्रष्टाचारलाई अन्त्य गर्ने अभियान, युवाहरुको रोजगारी व्यवस्थित गर्दै विदेश पलायन हुनबाट रोक्ने अभियान, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई पूनस्थापित गर्ने अभियान, स्वास्थ्य शिक्षा, रोजगारी, न्याय, सुरक्षा र मनोरञ्जनमा सबै नागरिकको पहुँच स्थापित गर्ने अभियान राप्रपाको रहेको छ । साथै प्रादेशिक संरचना खारेज गरी स्थानीय तहलाई सुदृढ पारेर सेवा सुविधा विस्तार गरिनुपर्छ । र बौद्ध, किराँत, बौण, जैन, सिक, मैत्रिय, स्लाम लगायतका धर्म संस्कृतिको संरक्षण गर्दै वैद्धिक सनातन सहित हिन्दुराज्य स्थापना गर्ने हाम्रो यो अभियान हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताबारे तपाई के भन्नु हुन्छ ?
अहिलेको सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता स्वभाविक हो । किनभने पछिल्लो राजनीतिक घटनाक्रममा मुलुकको राष्ट्रिय एकता, भौगोलिक अखण्डता खल्बलिएर, भ्रष्टाचार व्याप्त भई वेथिति संस्थागत भएको अवस्थामा नेपालको पहिचान र नेपाल भन्ने राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहको विरासतका रुपमा रहेका राजा ज्ञानेन्द्रले मुकदर्शक भएर बस्ने अवस्था नभएकाले जनतामाझ जानु र जनता र राजाको प्रयासमा देशलाई जोगाउनु नै परमधर्म र कर्तव्य हो ।

अन्तमा देशवासीलाई सन्देश दिनुस् न ?
परिवर्तनका संभावकका रुपमा रहेका सार्वभौम जनताले नै परिवर्तनको प्रत्याभुती मात्रै गराउने होइन स्वयं अभियान एवं शान्तिपूर्ण आन्दोलनका रुपमा देश ध्वस्त हुनबाट बचाउन एक अन्तिम प्रयास सबैले गर्नु जरुरी छ । अतः राप्रपाको राष्ट्र जोगाउ अभियानमा समग्र देशवासीलाई जोडिन एवं आफ्नो तहबाट नेतृत्वको लागि अनुरोध गर्दछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *