राप्रपा शैद्धान्तिक र वैचारिक रुपमा राजावादी पार्टी हो : शशांक शम्शेर थापा

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
शशांक शम्शेर थापा केन्द्रीय सदस्य, राप्रपा

शशांक शम्शेर थापा राजनीतिक तथा सामाजिक वित्तमा चिनाइरहनु पर्ने नाम होइन । २०६२÷६३ पछि राप्रपा नेपालमा आवद्ध भएका थापा समयाक्रममा राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (राप्रयुसं) नेपालको केन्द्रीय सदस्य समेत हुनु भएको थियो । उहाँ यतिवेला राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य हुनु हुन्छ । मिजासिलो र स्पष्ट वक्ता शशांक शम्शेर थापा पेशाले अधिवक्ता हुनुहुन्छ । यस्तै उहाँ पठाओ नेपालको निर्देशक रहेर शहर बजारमा आम जनतालाई राइड शेयरीङ सेवा मार्फत आफ्नो परिचय स्थापित गर्नु भएकोछ । प्रस्तुत छ राप्रपाका युवा नेता शशांक शम्शेर थापासँग गरिएको कुराकानी :

मुलुकको वर्तमान अवस्थालाई कसरी लिनु भएको छ ?
मुलुकको अवस्था जतात्यतै विग्रदो छ । आर्थिक अवस्था जता त्यतै अस्तव्यस्त छ । सामाजिक क्षेत्रमा विचलन छ । देशको राजनीति अस्थीर छ, देशको विकास निर्माण ठप्प छ भने पनि हुने अवस्था छ । जे कुरामा पनि राजनीति मात्र भन्ने परम्पराले देश अस्थीर बनेको हो । देशका होनहार युवा स्वदेशमा काम नपाएर विदेशीनु परिरहेको छ । लाखौं युवालाई स्वदेशमै रोजगारी दिलाउन स्वदशेमा कलकारखाना छैन । भएका कलकारखाना पनि धमाधम विक्री वितरण भइरहेका छन् । विगतमा दर्जनौं सरकारी कलकारखाना कौडीको भाउमा निजिकरण गर्दा अहिले सरकारी नियन्त्रणमा औलामा गर्न सकिने कल कारखाना, उद्योग रहेका छन् । सरकारले औषधी उद्योगसम्म आफै चलाउन सक्दैन भने अरुको के कुरा गर्नु । जबसम्म वर्षमा १०–२० वटा सरकारी उद्योग थपिदैन तबसम्म नेपाली युवा निर्देशिनु परिरहने नै छ ।

राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ वस्नुको कारण के होला ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शैद्धान्तिक र वैचारिक रुपमा राजावादी पार्टी हो । र, देशको प्रमुख हिन्दुवादी र राजावादी शक्ति हो । देशको प्रमुखमा राजा हुनुपर्छ भन्ने भिजन हामीले स्पष्ट रुपमा राख्दै आएका हौ । यस हिसाबले राजावादी पार्टीले राष्ट्रपतिमा कसरी मत दिनु । यस हिसाबले राष्ट्रपति निर्वाचनमा भाग लिन हामीलाई सुहाएन ।

अब राप्रपा जनतामाझ कसरी प्रस्तुत हुन्छ ?
अब राप्रपाले सदनमा शशक्त प्रतिपक्षको भूमिका र सँगै सडक संघर्ष गर्ने समेत कार्ययोजना वनाइ अगाडी बढ्नुपर्छ । आगामी आन्दोलन हाम्रो लागि वाध्यता बनिरहेको छ । हामी जनताको मन बुझ्न जनताको घर दैलो गर्न लागेका हौ । अब राप्रपाको संगठन अझ शशक्त बनाउनु पर्छ । राप्रपाले जिते र राप्रपाको संगठन बलियो भयो भने मात्र राजतन्त्र पूनस्थापित गर्न सहयोग मिल्ने छ । हामीले खोजेको राजतन्त्र संविधान भित्रकै हो । त्यसैले राजतन्त्र भन्दैमा पार्टीहरु तर्सनु पर्दैन । संविधान भित्रबाटै हामी राजतन्त्र पूनस्थार्पित होस् भन्ने चाहन्छौं । परि आए हामी सडकमा पनि शशक्त रुपमा उत्रने छौं ।

देश भर व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न के गर्नुपर्ला ?
भ्रष्टाचार चौतफी मौलाएकोे देखिन्छ । भ्रष्टाचार गर्ने ठुला माछाहरु कानूनको दायरा भन्दा बाहिरै रहने र सानातिना व्यक्तिहरु चाही कारवाहीमा पर्ने अवस्था छ । यस मेसोमा हाम्रा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘घूस खानु भनेको आमाको रगत खानु हो’ भन्नु भएको छ । यहि मुल नारा बनाउँदै हामी निर्वाचनमा पनि सहभागी भयौं । के अन्य पार्टीका नेताहरुले यस्तो भन्न सक्छन् ? वास्तवमा भन्ने हो भने जब सम्म भ्रष्टाचार नियन्त्रण हुन्न तबसम्म देश विकासको कल्पनै नगरे हुन्छ । विकास गर्न सरकारी प्रशासनमा इमान्दारहरुको बहुल्यता हुनु पर्छ । भ्रष्टहरुलाई सामाजिक रुपमै बहिष्कार गर्नु पर्छ । भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार अझै सक्रिय हुनुपर्छ ।

देशभर फैलिरहेको महँगीबारे तपाई के भन्नुहुन्छ ?
यसै मेसोमा भन्नुपर्दा देशको अर्थतन्त्र नाजुक अवस्थामा छ , महँगीले जनता चपेटामा परेका छन् । र राज्य सम्यन्त्र मुकदर्शक भएको छ । महँगी नियन्त्रण गर्न गाउँ देखि शहरसम्म वास्तविक मुल्यमा विक्री वितरणको व्यवस्था गरिनु पर्छ । होइन भने महँगी भइरहने छ, गरिब जनता महँगो सामान किन्न बाध्य भइरहने छन् । एकातिर गरिब जनता बढ्दै जानु अर्काे तिर महँगी बढ्दै जाने अवस्थाले गरिब जनतालाई चेपमा पारिरहेको देखिन्छ । अस्वभाविक रुपमा मुल्य वृद्धि गरिनु भ्रष्टाचार जस्तै हो । जसरी भएपनि मूल्य वृद्धि रोकिनुपर्छ ।

देशमा कस्तो नेतृत्व भए देश विकास हुन्छ ?
इमान्दारिता भएको, दुरदर्शी, कार्यक्षमता भएको, सबैको भावना बुझ्न सक्ने व्यक्तिले नेतृत्व पाए देश विकास हुन्छ । देशको माया भएको, भ्रष्टाचार विरोधीले सरकारको नेतृत्व गर्न पाए देशमा सकारात्मक परिस्थिति निर्माण हुनेछ । जसरी पनि उस्तै चल्छ भनिरहने हो भने, गरिब गरिब भइरहने धनि धनि भइरहने अवस्था आउछ । साथै गलत व्यक्तिका हातमा सत्ता जाँदा सम्म कसै गरी पनि देश विकास हुँदै हुन्न ।

तपाईको भनाई अनुसार देश विकास गर्न अझ के गर्नु पर्ला ?
सर्वप्रथम राजनीतिक अस्थीरताले गर्दा मुलुक विकासमा धेरै पछि परेको छ, भ्रष्टाचार जस्ता विकृति विसंगतिहरुले थप विकास मार्गमा बाधा अड्चन परेको देखिन्छ । सर्वप्रथम हामी राजनैतिक स्थिरताको बाटोमा अग्रसर रहेर, भ्रष्टाचार जस्तो विकृति विसङ्गतीलाई तोडेर विकाशको बाटो अवलम्बन गर्नुपर्ने देखिन्छ ।

यस पटकको प्रदेश र संघकोनिर्वाचन परिणामलाई राप्रपाले कसरी लिएको छ ?
यस पटकको संघ र प्रदेश निर्वाचनमा अपेक्षा गरे भन्दा राप्रपाले कमै सिट तथा मत प्राप्त ग¥यो । आगामी निर्वाचनमा हामी अझ मजबुत शक्तिका रुपमा उदाउने छौ । वास्तवमा भन्नुपर्दा राप्रपा जनताको पार्टी हो । यति बेला राजसंस्था र हिन्दु राष्ट्र जनताको आवश्यकता बलिरहेको छ । यहि एजेण्डालाई लिएर राप्रपा जनताको घर दैलो देखि सडकमा प्रदर्शीत हुन ढिलाइ गर्नु हुन्न । जनताले राप्रपाले अब के गर्छ भनेर हेरिरहेका छन् । यति बेला जनताको ध्यान राप्रपामा केन्द्रित छ ।

राप्रपाको संगठन अझ व्यापक पार्न तपाईहरु सँग कस्तो योजना छ ?
हामी नयाँ कार्यक्रम सहित देशभक्त युवाहरुलाई आकर्षण गर्ने खालका कार्यक्रमहरु देशव्यापी रुपमा संचालन गर्दै छौं । युवाहरु नै हाम्रो शक्ति हो । राप्रपाको आफ्नो भ्रष्टाचार विरोधी पहिचानलाई अझ व्यापक र विस्तृत वनाउनु पर्छ । राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देनलाई जनताले भ्रष्टाचार विरोधी असल राजावादीका रुपमा लिएका छन् । त्सैले अब अध्यक्ष लिङ्देन कै नेतृत्वमा भ्रष्टाचार विरोधी आन्दोलन गर्नु पर्छ । राजावादी आन्दोलनलाई साथ साथै अघि बढाउनु पर्छ । अब खुट्टा कमाउने बेला होइन, हामी दह्रो खुट्टा टेकेर जनतामाझ जान विलम्ब गर्नु हुन्न ।

अन्तमा देशवासीलाई सन्देश दिनुस् न ?
अब समस्त राष्ट्रवादी शक्तिहरु राप्रपामा लागेर देश विकास गर्ने महा–अभियानमा सरिक हुनु होस् । यसका लागि समस्त नेपालीहरुले हातेमालो गर्न सबैमा हार्दिक अनुरोध गर्दछु । अब राप्रपामा लाग्नेको मात्र भविष्य छ, किनकी राप्रपा देशभक्त पार्टी हो, देश विकास गर्ने पार्टी हो, इमान्दारहरुको पार्टी हो । त्यसैले राप्रपामा एकतावद्ध हुन म समस्त नेपाली जनतालाई आव्हान गर्दछु । यदि राप्रपाले अब सरकारको नेतृत्व गर्ने अवसर पायो भने नमुनाको सरकार बनाउने छ । देश विकासमा लहर ल्याउने छ । सरकारी कलकारखाना व्यापक रुपमा संचालनमा ल्याउने छ । राप्रपालाई जनताको आवश्यकता छ । त्यसैले राप्रपालाई देश विकास गर्ने मौका दिनु होला ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *