गोकर्णराज सिटौला
केन्द्रीय सल्लाहकार, राप्रपा
गोकर्णराज सिटौला नेपाली राजनीतिमा चिनाइ रहनु पर्ने नाम होइन । उहाँ नुवाकोटको तत्कालीन घ्याङ्फेरी गाउँ पंचायतमा १५ वर्ष प्रधानपंच हुनु भयो । १० वर्ष तत्कालीन नुवाकोट जिल्ला पंचायतमा सदस्य हुनुभयो । सिटौला तत्कालीन राप्रपा (चन्द) स्थापना देखि नै सक्रिय सदस्य भएर कार्य गर्नु भयो । उहाँ राप्रपाको नुवाकोट जिल्ला क्षेत्र १ को क्षेत्रीय अध्यक्ष र नुवाकोट जिल्ला सदस्य हुनु भयो । जनसेवी, विकासप्रेमीको परिचय बनाउनु भएका गोकर्णराज सिटौलाले महेन्द्र रत्न भुषण र राष्ट्र सेवा पदकसमेत पाउनु भएको छ । राप्रपाको केन्द्रीय सदस्य भइसक्नु भएका सिटौला यति बेला भने राप्रपाको केन्द्रीय सल्लाहकार हुनुहुन्छ । स्वच्छ छवि, असल राष्ट्रसेवकको परिचय बनाउनु भएका राप्रपा नुवाकोटको नेता गोकर्णराज सिटौलासँग गरिएको कुराकानीको मुख्य अंश ः
मुलुकको वर्तमान अवस्थालाई कसरी लिनु भएको छ ?
मुलुकको वर्तमान अवस्था सबैतिर जटिल छ । राष्ट्रियतालाई हेर्दा पनि अत्यन्त कमजोर छ । विदेशीको चलखेल बढी छ । राजदुतहरु नेताहरुको घर–घर धाइरहेका छन् । यो अवस्थाले राष्ट्र नै कमजोर हुने हो कि भन्ने देखिन्छ ।
राप्रपाले यस पटकको निर्वाचन परिणामलाई कसरी लिएको छ ?
यो भन्दा पहिला एक सिट पाएको राप्रपा अहिले १४ सिट ल्याउन सफल भएकोमा म अत्यन्त खुसी छु । यो राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व सफल भएको शुभ संकेत हो । राप्रपाले जुन सिद्धान्त, नीति लिएर जनतासँग मत लिएको थियो र जनता सामु दिएको वचन पुरा गर्न नेताहरु कटिवद्ध र इमान्दार भएर लाग्ने नै छन् । राप्रपा राष्ट्र, राष्ट्रियता, सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रणका निमित्त कटिवद्ध भएर अगाडी जान्छ भन्ने मैले विश्वास लिएको छु । पार्टीका वरिष्ठ नेताहरु डा. प्रकाश चन्द्र लोहनी, पशुपती समशेर राणा, अध्यक्ष राजेन्द्र लिङ्देन आफ्ना सिद्धान्तमा निष्ठावान रहनु भएको छ । पार्टीले बोकेको सिद्धान्त र विचारप्रति उहाँहरु अलिकति पनि विचलित हुनु हुने छैन भन्ने मैले विश्वास लिएको छु । हाम्रो पार्टीको मुल नीति भनेको धर्म सापेक्ष हिन्दु राज्य र अभिभावकिय भूमिका खेल्ने राजसंस्था हो । राजसंस्था र हिन्दु राज्य ल्याउन राप्रपाले पहिले प्रमुख भूमिका निर्वाह गर्नुपर्छ ।
राप्रपामा सरकारमा जाने, सरकारमा नजाने भन्ने दुई धार छ, यहाँलाई कस्तो लाग्छ ?
मेरो विचारमा अहिले परिस्थिति अनुसार संसदमा प्रतिपक्ष भएर राष्ट्रका विकृतिहरुलाई जनसमुदायमा पु¥याउन नै बढी आवश्यक छ । त्यसैले राप्रपा सरकारमा गई हाल्न उचित लाग्दैन । तर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेतृत्वबाट हुने निर्णय मान्न म सहृदय तयार छु ।
राप्रपा अब कस्तो रणनीति लिएर अघि बढ्नु पर्ला ?
राप्रपाको मुल नीति सडकबाट वा संसदबाट राजसंस्था र हिन्दु राज्य ल्याउने रहनेछ । यसको निमित्त नेताहरुले स्वच्छ रुपमा सोचेर आफ्नो व्यक्तिगत भलो भन्दा पनि राष्ट्र, राष्ट्रियताको उत्थानको लागि राष्ट्रका शिषर्थ नेताहरुले सोच्नुपर्छ । राष्ट्रपतिको बन्ने भनेर हानाथाप भइरहेको बेलामा त्यो ठाउँमा राजसस्था ल्याउनु उपयुक्त हुन्छ । त्यो ठाउमा अभिभावकको रुपमा राजालाई ल्याएरमा यो सबै जनताको हित र कल्याण हुनेछ । साथै यसबाट लोकतन्त्र मान्नेको पनि, राजसंस्था मान्नेको पनि सबैको भावनाको प्रतिनिधित्व हुनेछ ।
नेपालमा हिन्दु राज्य र राजसंस्था फर्किएला त ?
राजसंस्था र हिन्दु राज्य फर्कन अत्यन्त आवश्यक छ । किनभने ८२ प्रतिशत हिन्दु भएको देश, दुईतिर विशाल राष्ट्रहरु भएको यो सानो देशमा आपसी जुधाइले देशैं खतरामा जाला भन्ने चिन्ता छ । यस कारणले पनि राजसंस्था र हिन्दु धर्म देशमा शान्ति, स्थीरता र विकासका लागि आवश्यक छ । हामीलाई लाग्छ अब राजसंस्था फर्किन धेरै दिन कुर्नु पर्ला जस्तो लाग्दैन ।
देशमा भएको भ्रष्टाचारलाई यहाँले कसरी लिनुभएको छ ?
कानून नै बनाएर भ्रष्टाचार गरेका छन् । भ्रष्टाचारीलाई कडा भन्दा कडा कानून बनाएर कारवाही गर्नुपर्छ । कानूनले नै भ्रष्टाचार गर्न नदिने हुनु पर्छ । राप्रपाले अब भ्रष्टाचार रोक्न सम्पूर्ण प्रयास गर्नुपर्छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक पैसा घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्नु भएको छ । के अन्य दलका नेताहरु यस्तो भन्न सक्छन् ?
देशव्यापी फैलिरहेको महंगीबारे के भन्नु हुन्छ ?
अहिले भइरहेको महँगी सरकारकै कमजोरीको कारण हो । कनिभने सरकारको कालाबजारीलाई कारवाही गर्न सकेको छैन । नून, तेल, चामलसमेत किन्न नसक्ने अवस्थामा छन् जनता ।
देशमा शान्ति, सुशासन कायम गर्न के गर्नु पर्ला ?
देशव्यापी सुशासन कायम गर्न सबैभन्दा पहिला राजनीतिक स्थीरता हुनु पर्छ । कर्मचारीतन्त्रमा निष्पक्ष सक्रियता हुनुपर्छ । जनताको कर्मचारी हो भन्ने सरकारी तहबाट हुनुपर्छ । नातागोता भनेर मात्र अब नेताहरु लाग्नु भएन ।
अन्तमा सन्देश दिनुस् न ?
नेपालमा रहेका गरिब, पढेलेखेका, विद्वान मात्र होइन सबैले देश रक्षाको निमित्त पूर्व मेचिदेखि महाकालीसम्मका जनता राजसंस्था र हिन्दु राज्य ल्याउन सक्रिय हुन आव्हान गर्दछु ।